धरान । धरानका अग्रज स्रष्टा र युवा स्रष्टाबीच ‘विगत र वर्तमान’ साहित्यमा देखिएका वाद तथा सिद्धान्तबारे छलफल भएको छ ।

धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रमको सहजीकरण नाटककार तथा कवि गोपाल देवान गरे । वातावरण भने पूर्व प्रशासक एवम् कवि चन्द्र घिमिरेले तयार पारेको सहजकर्ता देवानले बताए । उनले समसामयिक नेपाली साहित्यमा बहुलवादलाई स्वीकार गरिएको बताए । उनले भने, ‘उत्तरआधुनिकवादले चिर्दै अहिले बहुलवाद आएको छ । यो जेनेरेसनहरू बहुलवादको चेतनामा आधारित भएर कविता लेखेका छन्, आख्यान पनि लेखेका छन् ।’

उनले अहिले पनि पुरातन पन्थीबाट लेख्नेहरूको कमी नभएको बताए । ‘अहिले पनि संस्कृत जान्ने, बरु उर्दु जान्ने, हिन्दी जान्ने तर यहीँका विविध विषयमा मिथकलाई उठाउन नचाहनेको जमात छ ।’ स्रष्टा तथा अग्रज पत्रकार हर्ष सुब्बाले नेपाली साहित्य कमजोर हुनुका पछाडि नेपाली समाजको सबै संस्कृति, भाषाको सम्मिश्रणको अभावका कारण भएको बताए ।

‘नेपाली साहित्य किन कमजोर भयो भन्दाखेरी नेपाली साहित्यमा नेपाली समाजको सबै संस्कृति, सबै भाषाको सम्मिश्रण भएन ।’ उनले अहिले चाहिँ विम्ब, प्रतीक र मिथकहरूको प्रयोग भइरहेको बताए ।

उनले तीसको दशकमा काठमाडौँवादलाई चिर्न धरानले भूमिका खेलेको बताए । तत्कालीन समयका जुझारु साहित्यकार तथा कविहरूले काठमाडौँलाई चुनौती दिन सकेको प्रसङ्ग कोट्याए । तत्कालीन समयमा सृजनशील साहित्य समाज (सिसास)ले काठमाडौँमा धरानका कविताहरूलाई निम्ता गरेर धेरै ठूलो गुण लगाएको स्मरण गरे ।

अग्रज स्रष्टा एवम् समालोचक प्रा.डा. गोपाल भण्डारीले रविबासरीय कार्यक्रमको प्रसङ्ग कोट्याउँदै महानन्द सापकोटाले भाषामा लगाएको गुणलाई तत्कालीन समयमा जन्मजयन्ती मनाएर तिरेको बताए । उनले लामो समयसम्म कार्यक्रम गरिए पनि २०५५ सालदेखि जन्मजयन्ती पनि मनाउन छाडिएको बताए ।

‘म महेन्द्र कलेजमा आइसकेपछि खोजी गर्दै जाँदा महानन्द सापकोटाको योगदान धेरै भएको पाएँ, झर्रो भाषाको प्रयोग गर्ने उहाँको योगदानलाई हेरेर जन्मजयन्ती मनाइएको थियो’ –उनले भने । कवि बम देवानले अहिले पैसावाला कवि तथा साहित्यकारहरूको दिन आएको बताए । उनले पैसा खर्चेर आफ्ना कुरा प्रचार गर्ने, समालोचना लेखाउने प्रचलन व्यापक बढेको बताए । कवि चन्द्र घिमिरेले अग्रज स्रष्टासँग धरानको साहित्यिक इतिहास रहेकाले त्यसलाई लेखोट गरेर इतिहासको लेखन गर्नुपर्ने बताए ।

कार्यक्रममा कवि भीष्म काफ्ले, युवा कवि सुदीप पाख्रिन, चन्द्र गुरुङ, कवि विमल गुरुङ पुस्तकालयका संस्थापक सञ्चालक पूर्णबहादुर गुरुङ, कवि अभागी कान्छा, गोपाल श्रेष्ठ प्रयास, साहित्यानुरागी धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले, फोटोग्राफर वीरेन लिम्बूलगायतको उपस्थिति थियो ।