इनरुवा । इनरुवा नगरपालिकाले करार सेवामा कार्यरत जनशक्ति कटौती गरेपछि निष्काशनमा परेका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकाले कार्य सम्पादन मूल्याङ्कनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निष्काशनमा परेकाहरूले आन्दोलन चर्काएका हुन् । आन्दोलित कर्मचारीहरू आइतबार कार्यालय समयलगत्तै मूलगेटअगाडी विरोधमा उत्रिएका थिए । उनीहरूले मूलगेटमा ताला लगाई नाराबाजीसँगै धर्ना दिए ।

आन्दोलनका कारण नगरपालिकाको सम्पूर्ण कामकाज पूर्णरूपमा ठप्प हुन पुगेको थियो । निष्काशनमा परेका कर्मचारीहरूले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन । मेयर, उपमेयरका साथै सांसद्, काङ्ग्रेसका नेता, पहुँचवाला कार्यकर्ता, वडाध्यक्षका आफन्तलगायतको करार अवधि भने थप गरिएको उनीहरूको भनाइ छ ।

यसैबीच कर्मचारी निष्काशनको विषयलाई लिएर नेकपा (एमाले) नगर कमिटीले समेत विरोध जनाएको छ । उसले नगरपालिकाको उक्त कदमलाई स्वार्थगत निर्णय भनेको छ । एमाले इनरुवा नगर कमिटीका तर्फबाट नगर अध्यक्ष प्रेम पौडेल र सचिव मेघराज न्यौपानेले विज्ञप्तिमार्फत् नगरपालिकाको निर्णयको भत्र्सना गरेका छन् ।

यसैबीच पछिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट इनरुवाको मेयरका प्रत्यासी उम्मेदवार रहेका सरोज पोखरेलले काङ्ग्रेसबाट निर्वाचित मेयर केदार भण्डारीले विरोधाभाषपूर्ण निर्णय गरेको बताएका छन् । उनले नगरपालिकाले विना आधार र मापदण्ड पूर्वाग्रही ढङ्गले कर्मचारी निष्काशन गरेको बताए । 

यता नगर प्रमुख केदार भण्डारीले नगरपालिकाले निर्णय गरी कार्य सम्पादन मूल्याङ्कनका आधारमा कर्मचारी कटौती गरिएको बताए । उनले नगरपालिकामा आवश्यकताभन्दा बढी सङ्ख्यामा करारका कर्मचारी रहेको पाइएकाले पछिल्लो निर्णय लिइएको बताए ।

भण्डारीले नगरपालिकामा आवश्यकताभन्दा बढी कर्मचारी करारमा राखिएको र कामै नगरी तलब–भत्ता बुझ्ने गरेको पाइएकाले समेत कर्मचारी कटौती गर्नुपरेको बताए । उनले कर्मचारी कटौती गर्दा वार्षिक बच्ने २ करोड १७ लाख रकम नगर विकासमा खर्चिने बताए । भण्डारीले केही कर्मचारीको म्याद थप नगरिएपछि आफूमाथि विभिन्न आरोप लगाउन थालिएको पनि बताए ।

त्यस्ता आरोपमा कुनै सत्यता नभएको बताएका भण्डारीले विपक्षी दलका नेताहरूलाई खुला बहसमा आउन चुनौतीसमेत दिए । उनले नगरपालिका कर्मचारी भर्ती केन्द्र बन्यो भन्दै हिँड्ने र कटौती गर्न सुझाव दिनेहरू नै विरोधमा उत्रिनुलाई दोधारे प्रवृत्ति भएको बताए ।

नगर प्रमुख भण्डारीले आवश्यकता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा केहीको करार अवधि थप गरिएको र अन्यको हकमा म्याद थप नगरिएको स्पष्ट पारे । भण्डारीले बाँकी म्याद थप गरिएका करारका कर्मचारीहरूको समेत कार्य सम्पादन मूल्याङ्कनलाई आधार मानी थप निर्णय लिइने बताए ।

उनले हटाइएका सबै क्षेत्रका कर्मचारीको सवालमा पर्याप्तता र आवश्यकताका आधारमा निर्णयमा पुगिएको बताए । इनरुवा नगरपालिकाले शनिबार सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुने गरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाए पनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ ।