बिर्तामोड । बिर्तामोडका ५० जना कृषकहरूलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाइ कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरूलाई रकम हस्तान्तरण गरिएको हो ।

सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमका बीच कृषकहरूलाई ४० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको छ । बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्षदेखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपंछी र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताए । उनले यस कार्यक्रमबाट कृृषकको जीवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिब विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको धारणा राखेका छन् ।

बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले सहारा नेपालसँगको साझेदारीमा ३ वर्षमा १ सय ५० वटा स्यालो ट्युबवेल वितरण गरिएको जानकारी दिए । ५ वर्षको अवधिमा बिर्तामोड नगरपालिकाले ६ सय ३७ वटा स्यालो ट्युबवेल वितरण गरेको छ ।

यस चालु आर्थिक वर्षमा मात्रै नगरबाट ६७ वटा र सहारा नेपालसँगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरिएको जनाइएको छ । वितरण गरिएका ट्युबवेलबाट करिब २ हजार बिघाभन्दा बढी जमिनमा सिंचाइ पुगेको छ ।

सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, सञ्चालक समिति सदस्य शङ्करप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषि प्राविधिक सुजित साहलगायत कृषकहरूको उपस्थिति रहेको थियो ।

IMG-6561