विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ५९ वर्षीया कमला थापाको आफ्नै घरमा आएकी स्वयम्सेविकाले सुगर जाँच गरिदिइन् । थापाको श्रीमान् ६० वर्षीय ललिन्द्रबहादुर थापाले वर्षौंदेखि मधुमेहको औषधि सेवन गर्दै आएका छन् ।

थापाको घरमा पुगेकी स्वयम्सेविका विष्णु कार्कीले कमलामा पनि मधुमेहको आशङ्का गरिन् र आफूसँग भएको ग्लुकोमिटरले जाँच गरिन् । त्यसमा सुगर बढेको पाइएपछि नजिकको अस्पतालमा पठाइन् । अस्पतालमै चिकित्सकले थप परीक्षण गर्दा उनमा मधुमेह भएको पुष्टि भयो । थापा अहिले मधुमेह नियन्त्रण गर्न लागिपरेकी छिन् ।

‘घरमा आउनुभएको स्वयम्सेविका बहिनीले भन्नुभएर जँचाएको थिएँ, अनि सुगर भएको थाहा भयो’ थापाले भनिन्, ‘मधुमेह सुरुवाती चरणमा देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि खानपिनमा ध्यान दिएको छु ।’ स्वयम्सेविका विष्णु कार्कीले सल्लाह दिएअनुसार थापाले खानेकुरामा पनि ध्यान दिन थालेकी छन् ।

स्वयम्सेविकामार्फत् घरमै सुगर जाँच गर्न पाएकी थापा अरूलाई पनि समय समयमा सुगर जाँच गर्न सल्लाह दिन्छिन् ।‘स्वयम्सेविका बहिनी घरमै नआएको भए मलाई सुगर लागेको थाहै हुने थिएन’ उनले भनिन्, ‘स्वयम्सेविका बहिनीले गर्दा समयमै सुगर पत्ता लाग्यो, यसको रोकथाम र नियन्त्रणको लागि खानपिनमा ध्यान दिनेछु । सुगर त सबैले जँचाइरहनुपर्ने रहेछ ।’

अहिले मोरङका चार स्थानीय तहमा स्वास्थ्य कार्यालय मोरङले स्वयम्सेविका खटाएर सामुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप रोगको नियन्त्रण तथा व्यवस्थापन अभियान सुरु गरेको छ । उक्त अभियानमार्फत् मधुमेह तथा उच्च रक्तचाप रोगको पहिचान र नियन्त्रणको अभियानमा स्वयम्सेविकाहरू लागिपरेका छन् ।

स्वास्थ्य कार्यालय मोरङले सुन्दरहरैंचा, लेटाङ नगरपालिका, धनपालथान र जहदा गाउँपालिका गरी चार स्थानीय तहमा अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

‘स्थानीयले खानपिनमा ध्यान दिएका हुँदैनन् । त्यसैले रोगले भित्री रूपमा आक्रमण गरिसकेको हुन्छ । त्यसैले समयमै रोग पत्ता लगाएर मधुमेह र उच्च रक्तचापको रोकथाम र नियन्त्रणको लागि प्रारम्भिक चरणमा चार स्थानीय तहहरूमा अभियान सुरु भएको छ’ कार्यालय प्रमुख डा. मेहताले भने, ‘अहिले सुरु भएको स्थानीय तहहरूमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू पनि देखिएका छन् ।’

गाउँघरमा देखिएका बिरामीको रोगको पहिचान गर्ने र स्वास्थ्यकर्मीहरूसँग राय सुझाव लिएर रोगको रोकथाम र नियन्त्रण गर्न तालिम दिएर दक्ष स्वयम्सेविका फिल्डमा खटाएको उनले बताए । स्वयम्सेविकाहरूबाट नसर्ने रोगसम्बन्धी पाइलट कार्यक्रम अन्तर्गत समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप रोगको नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम सुरु भएको उनले बताए ।

७८ जना स्वयम्सेविकाले गरेको परीक्षणमा चार स्थानीय तहमा ४ हजार ९ सय ३२ जनाको सुगर जाँच गर्दा १ हजार २ सय ४९ जनामा मधुमेह रोग देखिएको स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखरकुमार यादवले बताए । सबैभन्दा बढी सुन्दरहरैंचामा परीक्षण भएको छ । सुन्दरहरैंचामा १ हजार ८ सय ३० जनाको सुगर परीक्षण गर्दा ४ सय ९८ जनामा मधुमेह रोग देखिएको छ ।

यस्तै ३ हजार ३ सय ७८ जनाको रक्तचाप जाँच गर्दा ६ सय ७१ जनामा उच्च रक्तचाप देखिएको यादवले बताए । यस्तै लेटाङ नगरपालिकामा १ हजार २ सय ९ जनाको सुगर परीक्षण गर्दा २ सय १७ जनामा मधुमेह र १ हजार ३८ जनामा रक्तचापको परीक्षण गर्दा २ सय ७० जनामा उच्च रक्तचाप देखिएको स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ ।

यसैगरी जहदामा १ हजार ५ जनाको सुगर जाँच गर्दा २ सय ८३ जनामा मधुमेह र १ हजार २ सय ४७ जनाको प्रेसर जाँच गर्दा ४ सय २९ जनामा उच्च रक्तचाप देखिएको छ ।  धनपालथान गाउँपालिकाभित्र ८ सय ८८ जनाको सुगर जाँच गर्दा १ सय ५१ जनामा मधुमेह र १ हजार ४ सय ३३ जनाको प्रेसर जाँच्दा ३ सय ४५ जनामा मधुमेह रोग देखिएको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिए ।

‘ग्लुकोमिटरमा जाँच गर्दा सुगर लेबल ७ भन्दा माथि देखिएमा म चिकित्सककोमा जाँच गर्न जान सल्लाह दिन्छु, धेरैजसो जानुहुन्छ’ उनले भनिन्, ‘खानपिनमा पनि ध्यान दिन सुझाव दिने गरेको छु ।’

उनले सल्लाह दिएर आफूलाई मधुमेह भएको जानकारी पाएका व्यक्तिहरू अहिले नियमित चिकित्सकको परामर्श र औषधि लिएर सुगर नियन्त्रण गरिरहेका छन् ।

स्वयम्सेविका कार्कीले मधुमेह पहिचान गरेका व्यक्तिहरूले आँखा नदेख्ने, भोक धेरै लाग्ने, थकाइ लाग्ने, शरीर भारी हुने लक्षणहरू सुनाएका थिए । उनीहरूलाई तीन दिनको तालिम दिएपछि अहिले मधुमेह र रक्तचापको जाँच गर्न ग्रामीण बस्तीहरूमा पुग्ने गरेका छन् । तालिम लिएपछि ७८ जना स्वयम्सेविकाहरूलाई सुगर परीक्षण गर्नका लागि ग्लुकोमिटर उपलब्ध गराएको छ । उनीहरूले आफ्नै टोल छिमेकमा रहेका स्थानीयको सुगर जाँच गर्दै आइरहेका छन् ।

स्वयम्सेविकाले घरआँगनमै पुगेर सुगर र प्रेसरको जाँच गर्नुका साथै मधुमेह र उच्च रक्तचापका विषयमा चेतना फैलाउने काम पनि गर्दै आइरहेका छन् । ‘समुदायमा आधारित कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई परिचालन गरी रोग पहिचान, सचेतना तथा पराशर्म र रोग लागेकाहरूलाई अस्पतालसम्म रेफर गर्ने काम भइरहेको छ’–जनस्वास्थ्य अधिकृत यादवले भने ।

helt-cam