सुनसरी । वर्षौंदेखि मर्मत नहुँदा इनरुवा–दुहबी सडक–खण्ड जीर्ण बन्दै गएको छ ।

उक्त सडक–खण्डमा कालोपत्रे भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र स्तरोन्नति नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत बाटो मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् ।

दिनहुँ हजारौं सवारीसाधन गुड्ने बाटो मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । वर्षौंदेखि यस्तो समस्या हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय दाताराम पोखरेलले बताए । बाटोको अवस्था दयनीय बन्दै जाँदासमेत सम्बन्धित निकायले कहिलेकाहीँ खाल्डाखुल्डी भर्ने काम मात्र गरेको तर, दीर्घकालीन समस्याको समाधानतर्फ चासो नदिएको उनको भनाइ छ ।

पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि कुनै सुनुवाइ नभएपछि स्थानीयवासीको सक्रियतामा इनरुवा–दुहबी सडक निर्माण दबाव समिति गठनसमेत गरिएको छ । इनरुवा–दुहबी सडक–खण्डको इनरुवा नगरपालिकाको वडानम्बर ५ र ७, गढी गाउँपालिकाको वडानम्बर २, दुहबी नगरपालिकाको वडानम्बर १०, २ र ६ सम्मको सडक जीर्ण बनेर आवत–जावत गर्न बाधा उत्पन्न हुने भएकोले जीर्ण सडक निर्माणका लागि दबाव दिन स्थानीयस्तरमा सङ्घर्ष समिति गठन गरिएको हो ।

उक्त दबाव समितिले दुहबी–इनरुवा सडक–खण्डमा दायाँ–बाँया ढल निकाससहितको चार लेनको गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, सडकको दायाँ–बायाँ कम्तीमा ५५ फिटको यात्रु आवत–जावत गर्ने फुटपाथ निर्माण गर्नुपर्ने, सडकको छेउछाउमा दुवैतर्फ सडकको पानी निकासका लागि कम्तीमा भी सेप राख्ने, चार लेनमध्ये दुवैतर्फ वन–वे निर्माण गर्ने र बीचमा डिभाइडर निर्माण गर्ने तथा बिजुली, खानेपानी, अप्टिकल फाइवर, नेटका तारहरूको समुुचित व्यवस्थापन गर्नेलगायतका माग राखेका छन् ।

करिब १५ कि.मि. लामो दुहबी–इनरुवा सडक–खण्ड लामो समयदेखि जीर्ण बने पनि सामान्य टालटुल गरेर सञ्चालनमा रहेको छ । तर, पछिल्लो एक वर्षमा आधा दर्जन पटक टालटुल गरेपनि फेरि उस्तै भएपछि आजित र प्रभावित स्थानीयले नयाँ सडक निर्माणको लागि दबाव दिन भन्दै सङ्घर्ष समिति गठन गरेको समितिका संयोजक गोविन्दप्रसाद पोखरेलले बताए ।

यसैबीच बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दुहबी सडक निर्माण दबाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकास मन्त्री हिमाल कार्कीले उक्त सडक–खण्ड निर्माणमा प्रदेश सरकार गम्भीर रहेको दाबी गरेका छन् ।

विगतको भन्दा शहरीकरण र जनसङ्ख्या वृद्धिले सडक फराकिलो गर्नुपर्ने आवश्यक भए पनि अनावश्यक अतिक्रमण र थप बाटोका लागि जग्गा लिनुपर्नेमा मुआब्जाको समस्या हुने भएकाले जोखिमका बीचमा पनि प्रदेश सरकारले सडक निर्माण र विस्तारमा ध्यान दिएको उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का पूर्व मख्यमन्त्री भीमप्रसाद आचार्यले यात्रुलाई यात्रा गर्न कष्टकर बन्दै गएको बताउँदै इनरुवा–दुहबी सडक निर्माण गर्न माग गरे ।

यस्तै नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले सडक निर्माणका सवालमा आफूले सदनमा कुरा उठाएको तर, सुनुवाइ नभएको बताए । प्रदेश सरकारले दुहबी–इनरुवा सडक हेर्ने विषयमा पनि केही अन्यौल रहेकाले पनि समस्या भएको उनको भनाइ छ । उक्त सडक–खण्ड चारलेनको नभए पनि दुई लेनको स्तरीय सडक निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिए ।