खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् ।

माइतीतर्फका हजुरबुबाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७ सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन् ।

स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । नेपाली काङ्ग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाका दुई छोरी छन् । उनका पति भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी उमेश लम्सालले बताए । यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रशेर राई बिहीबार बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ ।                 

   –रासस