धरान । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जना प्रतिस्पर्धी देखिएका छन् ।

बोर्डको अध्यक्षका लागि अभिनेता भूवन केसी, सम्झना उप्रेती रौनियार, मनोज पण्डित, अरुणकुमार प्रधान, शुष्मा कार्की, नरेश पौडेल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौडेलले आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाले आफ्नो नाम दर्ता गराएका हुन् । अब आवेदन दिनेहरूको अन्तरवार्तालगायतका प्रक्रिया अघि बढ्नेछ । आवेदन भएपछि अन्य प्रक्रिया अघि बढ्ने र सबै प्रक्रिया पूरा भएर नियुक्ति हुन अझै केही साता लाग्ने बताइएको छ । आकाङ्क्षीहरू राजनीतिक दौडधुपमा व्यस्त देखिएका छन् ।

त्यसमध्ये भूवन केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको बताइन्छ । अरुण प्रधानलाई आफ्नै निर्वाचन क्षेत्रका समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन रहेको जनाइएको छ । दीपक श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको समर्थन रहेको बताइन्छ भने रौनियारलाई प्रकाशमान सिंहको सहयोग रहेको छ ।