विराटनगर । उदयपुरको कटारी नगरपालिकाकी एक महिलाले मलद्धार नभएको नवजात शिशुलाई जन्म दिएकी छिन् । कटारी–  ३ की कविता अधिकारी दनुवारले उदयपुरको अस्पतालमा जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो । 

छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको उनले बताइन् । दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जनकपुर लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स हस्पिटल ल्याएको उनले बताइन् । म्याक्स हस्पिटलमा मलद्धारा नभएको नवजात शिशुको असार ९ गते सफल शल्यक्रिया भएको छ । अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. फरेन्द्र शाह, वरिष्ठ जनेरल ल्याप्रोस्कोपिक सर्जन तथा बालरोग सर्जन डा रमाशंकर प्रसाद यादवको टिमले मलद्धारा नभएको नवजात शिशुको सफल शल्यक्रिया गरेका हुन् ।

नवजात शिशुले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना देखे पछि चिकित्सकले ज्यान जोगाउन पेट चिरेर ठूलो आन्द्रा काटेर दिसा गर्नका लागि बैकल्पिक व्यवस्था गरिएको बालरोग विशेषज्ञ डा. शाहले बताए । ‘यो एकदमै जटिल समस्या हो । यस्ता शिशु समयमै अस्पताल नपुग्दा ज्यानसमेत जानसक्ने सम्भावना रहन्छ,’ डा. शाहले भने, ‘अहिले गरेको प्रराम्भिक चरणको शल्यक्रिया हो । पेटभित्र रहेको आन्द्रा काटेर दिसा गर्न सक्ने बनाएका छौं ।’ ९ महिनापछि आन्द्रालाई मलद्धारमा लगेर राखिने उनले बताए । ‘त्यसबेलामा पनि बच्चाको शल्यक्रिया गरिनुपर्ने हुन्छ,’ उनले भने, ‘तर, त्यसबेलामा सहज हुन्छ । बच्चाको शारिर अवस्थाको पनि बिकास भइसकेको हुनेछ ।’

बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकाली त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको उनले बताए । 

अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको अस्पतालले जानकारी दिएको छ । बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको डा. शाहले बताए । ‘बच्चाको अवस्था अहिले सामान्य रहेको छ,’ उनले भने, ‘शुक्रबारसम्मा हामी नवजात शिशुलाई डिस्चार गर्ने तयारी गरिएको छ ।’ 

नातिको सफल शल्यक्रियापछि हजुरआमा दालो दनुवारले बताइन् । ‘अप्रेशनपछि अहिले नातिलाई  राम्रो भएको छ ,’ उनले भनिन्, ‘नातिलाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पुर्याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभएको छ ।’