धनकुटा । नेकपा (एमाले)को भातृसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले  जिल्ला अस्पताल धनकुटालाई १४ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाएको छ ।

सङ्घले अस्पतालबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी तथा सन्तोषजनक नभएको भन्दै आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो । सङ्घका धनकुटा अध्यक्ष प्रवीण पोख्रेलले जिल्ला अस्पताल धनकुटाका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरेन तितुङ तामाङ र अस्पतालका  मेडिकल सुपरिटेन्डेन्ट डा.मनिश शाहलाई ध्यनाकर्षण पत्र बुझाएका हुन् ।

अध्यक्ष पोखरेलले १ नम्बर प्रदेशको पहाडी जिल्लाको पुरानो अस्पताल भए पनि जनताले भने जस्तो सेवा सुविधा नपाइरहेको बताए । त्यस्तै युवा सङ्घका केन्द्रीय सदस्य जमशेर आठपहरियाले जिल्ला अस्पताल धनकुटा पूर्वका चार जिल्लाको केन्द्रमा रहेको हुनाले आवश्यक पर्ने सेवा हुनुपर्नेमा जोड दिए । उनले दैनिक सञ्चालन हुने एम्बुलेन्स सेवा र अस्पतालमा ब्याचलर फार्मेसी हुनुपर्ने बताए ।

ध्यानाकर्षण–पत्र बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तामाङले भने, ‘अस्पतालको स्तरोन्नति र व्यवस्थान गर्न लागिपरेको छु ।’ तामाङले त्यसका निम्ति तत्काल, दीर्घकालीन र अल्पकालीन रूपमा गर्न सक्ने कामहरूको अध्ययन भइरहेको बताए ।

धनकुटा अस्पताललाई नमुुना अस्पताल बनाउनका निम्ति कार्यदलमार्फत् काम गरिरहेको बताउँदै अध्यक्ष तामाङले भने, ‘अस्पतालमा थप भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको छु ।’ उनीहरूले जिल्ला अस्पतालको प्रशासनिक भवनअगाडि १ घण्टा धर्नासमेत दिएको राष्ट्रिय युवा सङ्घका अध्यक्ष पोख्रेलले जानकारी दिए ।