धरानमा युएन कलेजले आयोजना गरेको युएन सेफ कम्पिटिसनमा इटहरीको स्किल कलेजका  नविन खड्का र इक्सा लिम्बूको समूह विजेता भएको छ । पहिलो हुने नविन र इक्साको समूहले ५० हजार  नगद तथा  ५० हजार बराबरको   युएन कलेजमा बिएचएम पढ्न छात्रवृत्ति का साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

सोमबार कलेजको प्राङ्गणमा  चार वटा कलेजका ६ समूह बिच  प्रतिस्पर्धामा  प्रिमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समूह दोस्रो भएका छन् भने नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल (प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समूह तेस्रो भएको छ ।

दोस्रो  र तेस्रो हुने समूहले क्रमशः ३० हजार रुपैयाँ नगद, बिएचएम पढ्नको लागि ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, २० हजार रुपैयाँ नगद, युएन कलेजमा बिएचएम पढ्नको लागि २० हजार रुपैयाँ बराबरको छात्रवृत्तिका साथै  ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

 विजेताहरूलाई युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायक द्वय ग्लोबल नेप्लिज सेफ फेडरेसन प्रदेश १ का अध्यक्ष निरज श्रेष्ठ र फेडरेसनका सुनसरी अध्यक्ष प्रेम लिम्बूले नगद, ट्रफी र प्रमाण–पत्र वितरण गरेका थिए ।