धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि रहेका औषधि पसलहरूमा ‘इम्प्लान्ट’ को मूल्यमा एकरूपता ल्याइने निर्णय भएको छ ।

धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीन) को अध्यक्षतामा औषधि व्यवसायीहरूसँग बसेको छलफलबाट औषधिलगायत इम्प्लान्टको दररेटमा एकरूपता ल्याउने निर्णय गरिएको जनाइएको छ ।

प्रतिष्ठानमा इम्प्लान्टमा बिरामीसँग मनपरी शुल्क लिने गरेको गुनासोका आधारमा वडा कार्यालयको पहलमा एकरूपता ल्याउने निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिए । प्रतिष्ठान गेटअगाडि इम्प्लान्टसम्बन्धी काम गर्ने चारवटा औषधि व्यवसायी छन् ।

ती औषधि व्यवसायीसँग छलफल गरी एकरूपता मूल्य राखिने निर्णय भएको अध्यक्ष राईले जानकारी दिए । गेटअगाडि सुजिता फार्मेसी, सृष्टि फर्मालिङ्क, बजरङ्ग ट्रेड लिङ्क र अर्थो वल्र्ड सर्जिकल रहेका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ धरानका अध्यक्ष मचेन लिम्बूको संयोजकत्वमा एक अनुगमन समितिसमेत गठन गरिएको छ । औषधिहरूको दररेटमा पनि एकरूपता ल्याउन पहल गरिरहेको वडाध्यक्ष राईले बताए । वडाध्यक्ष राईका अनुसार आइतबार ल्याव सञ्चालकहरूसँग छलफल गरिएको छ ।

आज (सोमबार) सम्पूर्ण औषधि व्यवसायीहरूसँग छलफल गरिने छ । त्यस्तै गेटअगाडि रहेका टेम्पो व्यवसायी र घर मालिकसँग छलफल गरी टेम्पो व्यवस्थापनमा पनि कदम चालिने उनले बताए ।