बिर्तामोड । बिर्तामोड नगरपालिकाले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने भएको छ । मनसुन सुरु भएसँगै डेङ्गुलगायत रोगहरूको सङ्क्रमण पनि वृद्धि हुने भएकाले त्यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्न सुरु गरिने भएको हो ।

नगरपालिकाले असार ४ गतेदेखि १७ गतेसम्म अभियानका रूपमा लार्भा नष्ट गर्ने कार्यक्रम राखेको जनाएको छ । यसका लागि विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली तयार पारिएको नगरका जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिए ।

विषादी छर्किएको ठाउँमा रहेका फलफूल तथा तरकारी ७ दिनसम्म प्रयोग गर्न नहुने र त्यसपछि पनि १४ दिनसम्म काँचै खान नमिल्ने, राम्रोसँग पकाएर मात्रै खानु पर्ने खड्काले बताए । एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रूपमा काम गर्नेछ ।

लामखुट्टेबाट उत्पादन हुने रोगहरू निर्मूल गर्नका लागि यो अभियान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लार्भा नष्ट गर्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवाला सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले लामखुट्टेको कारण सर्ने रोगहरूबाट बच्न यस अभियानलाई सबैजना लागेर प्रभावकारी बनाउनु पर्ने धारणा राखिन् ।  उनले मानव स्वास्थ्यमा केही हानिकारक रहेकोले विषादीलाई सुरक्षित ढङ्गले प्रयोग गर्नुपर्ने बताएकी छन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले अभियान सफल बनाउनका लागि जनप्रतिनिधि, टोलविकास संस्था, प्रहरी प्रशासन सबै लाग्नु पर्ने बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगरमा श्रोत न्यून रहेकोले ग्रामीणक्षेत्रभन्दा जनघनत्व बढी भएको ठाउँमा विषादी छर्किन प्राथमिकता दिने बताए । एक हजार ४ सय ६८ ट्याङ्कीमात्रै विषादी रहेकोले यसले १ लाख ४६ हजार ७ सय ९५ वर्गफिटमा मात्रै पुग्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।