धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी टिकट काट्ने समय परिवर्तन भएको छ ।

पहिला बिहान ८ बजेदेखि खुल्ने गरेको टिकट काउन्टर अब बिहान साढे ७ बजेदेखि १२ बजेसम्म खुल्ने प्रतिष्ठानले सूचना जारी गरेको छ । दिउँसो भने पुरानै समय २ बजेदेखि ३ बजेसम्म टिकट काट्न सकिने प्रतिष्ठानका सह–प्रवक्ता डा.चूरामणि पोखरेलले जानकारी दिए ।

त्यसैगरी प्रतिष्ठानले नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतको सुविधाका लागि प्रतिष्ठानकै फार्मेसीबाट औषधि किन्नुपर्ने जनाएको छ ।

सरकारले विपन्न नागरिकका लागि मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मिर्गौला रोगका बिरामीहरूलाई सुविधा दिँदै आएको छ ।

पहिला उपचारका क्रममा चिकित्सकले लेखेका औषधि बाहिरका पसलबाट खरिद गर्न सकिने व्यवस्था थियो । आगामी असार १ गतेबाट भने बाहिरबाट किनिएका औषधिको बिल शोधभर्नाका लागि दाबी गर्न नपाइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको फार्मेसीमा उपलब्ध नभएका औषधि खरिद गर्नु परेमा भने फार्मेसीको आधिकारिक कर्मचारीबाट प्रमाणित गराई बाहिरबाट खरिद गर्न सकिने बताइएको छ ।

सह–प्रवक्ता डा.पोखरेलका अनुसार प्रतिष्ठानको फार्मेसी पूर्णरूपमा सञ्चालनमा आइसकेको छ । यहाँ अन्यत्रभन्दा सहुलियत दरमा औषधि तथा औषधिजन्य सामग्रीहरू पाइने उनले जानकारी दिए ।