धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि गठित ९ सदस्यीय कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । 

प्रतिष्ठानको सेवा सुधारको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेट अगाडि हामी नेपाल नामक संस्थाले थालेको घोपा बचाउ अभियान आन्दोलनका मागलाई पूरा गर्नका लागि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले मंगलबार प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. गुरु खनाललाई प्रतिवेदन बुझाएको प्रतिष्ठानका डा. चूरामणि पोखरेलले जानकारी दिए । 

आन्दोलनको ५६ औं दिनमा धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङको रहोबरमा छलफल बस्दै ५ सदस्यीय समिति गठन गरेको थियो । समितिमा बीपी प्रतिष्ठानका तर्फबाट २ जना, आन्दोलनकर्ताबाट दुई जना र नगर प्रमुखको प्रतिनिधिका रूपमा एक जना राख्ने गरी कार्यदल बनेको थियो । उक्त कार्यदलमा पुनः ४ जना थप गरिएको थियो । घोपा बचाउ अभियानको माग सुनुवाइ गर्नका लागि जेठ १६ गते कार्यदल बनेको थियो । 

प्रतिवेदनमा औल्याइएका सुझावहरू अध्ययन गरी तत्काल गर्न सकिने कार्यहरू लगायत मध्यकालीन तथा दिर्घकालीन रूपमा सम्पन्न गर्न सकिने कार्यहरूको विस्तृत कार्ययोजना पाँच दिनभित्र उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई पेश गर्ने भएको छ ।