धरान/परिवर्तनका लागि सामाजिक अभियानको पाक्षिक सामाजिक स्वास्थ्य क्लिनिकमा १ सय ५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।

अभियानका अध्यक्ष विष्णु बरालका अनुसार अन्य क्लिनिकभन्दा सबैभन्दा बढी बिरामीहरूको जाँच गरिएको हो । यसअघि ८० भन्दा केही माथिसम्मले उपचार सेवा लिएका थिए । अभियानको यो सत्रौँ संस्करण हो । पाक्षिक रूपमा गरिँदै आएको कार्यक्रमअन्तर्गत यसपटक सिद्धि नेवाः परिषद्सँगको सहकार्यमा कार्यक्रम गरिएको हो । 

सिद्धि नेवाः परिषद्को हलमा गरिएको कार्यक्रममा मुटु, मधुमेह र उच्च रक्तचापबाट पीडित बनेकाहरूको जाँच गरिँदै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा अभियानले यो कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक त्रिभुवन बरालले जानकारी दिए । धरानको मोडल कलेजबाट सुरु गरिएको क्लिनिक १० औं संस्करणबाट भने वडा वडामा सेवा दिन थालिएको हो । यसअघि धरान १८, २, १, १३, ३, २, १२ र ८ मा क्लिनिक सञ्चालन गरिएको थियो । 

1

कार्यक्रममा अभियानका मोहन श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल, निशान नेपाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्टाफ नर्स निर्मला बास्तोलाले सहयोग गरेकी थिइन् । कार्यक्रममा परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले अभियानसँगको सहकार्यमा ज्येष्ठ नागरिकहरूलाई सेवा दिन पाएकोमा आयोजक कमिटीलाई धन्यवाद दिए । अभियानले ‘घरको स्कुल’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई घरको स्कुलले निःशुल्क रूपमा सेवा दिँदै आएको छ ।