विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा हाइड्रोसिलको सफल उपचार हुने गरेको छ ।

कोसीमा हाइड्रोसिलको उपचार निःशुल्क सुरु गरेपछि लक्ष्यभन्दा बढी बिरामीको उपचार हुने गरेको हो । चालु आर्थिक वर्षमा ६० जना हाइड्रोसिलको उपचार गर्ने अस्पतालले लक्ष्य लिएको थियो । तर, ११ महिनामा लक्ष्यभन्दा ११ जना बढी हाइड्रोसिलका बिरामीको उपचार गरेको कोसी अस्पतालका जेनरल सर्जन डा. क्षितिज गिरीले जानकारी दिए ।

चालु आर्थिक वर्षको जेठ ४ गतेसम्म ७६ जनाको हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार कोसीमा गरेको उनले बताए । ‘हाइड्रोसिलका बिरमीको सङ्ख्या बढ्दै गएको छ’ डा. गिरीले भने, ‘मोरङको पूर्व–दक्षिणक्षेत्रमा हाइड्रोसिलका बिरामी बढी देखिएका छन् ।’

अहिले पनि हाइड्रोसिलको उपचार कोसी अस्पतालमा निःशुल्क हुने गरेको बिरामीले जानकारी नपाएको अवस्था रहेको उनले सुनाए । ‘अहिले पनि कतिपयलाई कोसी अस्पतालमा हाइड्रोसिलको उपचार निःशुल्क हुन्छ भन्ने जानकारी नहुँदा आर्थिक अवस्था नाजुक भएका परिवारका बिरामीहरू उपचारबाट बञ्चित भएको अवस्था रहेछ’ उनले भने, ‘कोसी अस्पतालमा हाइड्रोसिलका बिरामी आए यहाँ सम्पूर्ण उपचार खर्च निःशुल्क हुने गरेको छ ।’ शल्यक्रियादेखि बिरामी डिस्चार्ज नभएसम्म आवश्यक पर्ने औषधि पनि निःशुल्क रहने उनले बताए ।

चार वर्षदेखि कोसी अस्पतालमा हाइड्रोसिलको उपचार निःशुल्क सुरु भएको छ । अहिलेसम्म १ सय ७८ जनाको हाइड्रोसिलको निःशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।

हाइड्रोसिलका बिरामी मोरङको रङ्गेली, आमतोला, डाइनियालगायतका क्षेत्रमा बढी रहेका छन् । ‘यहाँका मानिसले हाइड्रोसिल लुकाएर बस्ने गरेको पनि पाइयो’ डा. गिरीले भने, ‘हामीले डाइनियामा शिविर सञ्चालन गर्दा ६५ जना हाइड्रोसिलका बिरामी फेला पारेका थियौं । उनीहरूलाई स्वास्थ्य सचेतना गराएपछि रङ्गेली अस्पतालमा ल्याएर निःशुल्क उपचार गरेका थियौं ।’