धरान । निर्देशक दयाराम घिमिरेको डकुमेन्ट्री फिल्म ‘जोगी द गड अफ नाइट’ ले २ वटा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ ।
एक साताभित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड र भुटानको ड्रुक इन्टरनेशनल फिल्म अवार्ड पाउन सफल भएको हो । दक्षिणी भारतको पुडुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेशनल फिल्म फेष्टिभलमा ‘जोगी द गड अफ नाइट’ उत्कृष्ट डकुमेन्ट्री बनेको हो ।

विश्वभरबाट आएका फिल्महरूलाई पछि पार्दै नेपालको ‘जोगी द गड अफ नाइट’ डकुमेन्ट्री उत्कृष्ट बनेको हो । त्यस्तै भुटानमा आयोजना हुँदै गरेको ड्रुक इन्टरनेशनल फिल्म फेष्टीभलमा पनि उक्त डकुमेन्ट्री जोगी द गड अफ नाइटले आउटस्ट्यान्डिङ अचिभमेन्ट पुरस्कार जितेको हो ।

पूर्वी नेपाललगायत देशका विभिन्न स्थानहरूमा फेरी प्रथा चलनचल्तीमा रहेको छ । जोगी जातका पुरुषहरूले साउन, कात्तिक र चैत महिनाको रातको समयमा घरको वरिपरि घुमी शङ्ख बजाई फेरी लगाउने प्रचलन रहेको छ । यसै विषयलाई निर्देशक दयाराम घिमिरेले निर्माण तथा निर्देशन गरेर फिल्म तयार पारेका थिए ।

डकुमेन्ट्री सङ्खुवासभा र धरानमा छायाङ्कन गरिएको हो । वृत्तचित्रमा फेरी लगाउँदै हिँड्ने ओमनाथ जोगीको कथालाई प्रस्तुत गरिएको छ । वृत्तचित्रको निर्माण दयाराम घिमिरे र हरि उप्रेतीले गरेका हुन् भने अनुसन्धान र निर्देशन घिमिरेले गरेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली संस्कृति बोकेको वृत्तचित्रले अवार्ड जित्नु नेपाल र नेपालीहरूका लागि गर्वको कुरा भएको निर्देशक घिमिरेले बताए । यसअघि नेपालमै आयोजना भएको काठमाडौं सर्ट फिल्म फेष्टा तथा सोसल मिडिया फिल्म अवार्डमा जोगी उत्कृष्ट वृत्तचित्र बनेको उनले बताए ।

नेपाल इन्टरनेशनल फिल्म फेष्टीभलमा अफिसियल सेलेक्सनमा परेको थियो । अन्तर्राष्ट्रिय फिल्म फेष्टीभलहरू युके को लिफ्ट अफ फिल्म मेकर सिजन, युकेकै फष्ट टाइम फिल्म मेकर सिजन, पेरिस को गोल्डेन ट्रि इन्टरनेशनल डकुमेन्ट्री फिल्म फेष्टीभलमा अफिसियल सेलेक्सनमा परेको थियो । यस्तै बङ्गलादेशको सिनेमेकिङ फिल्म फेष्टीभलमा पनि छनौटमा परी डकुमेन्ट्रीलाई सम्मानित ट्याग (अनरेवल मेन्सन) समेत पाएको थियो ।