विजयपुर । सुनाखरी एकेडेमी स्कुल धरानले विभिन्न खेलकुदमा विजयी हुने ६ विद्यार्थीलाई सम्मान गरेको छ ।

बुधबार स्कुलले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई सम्मान गरेको हो । स्कुलका प्रधानाध्यापक मिलन राईका अनुसार हिसानले आयोजना गरेको सुनसरी जिल्लास्तरीय ब्याडमिण्टन प्रतियोगितामा रोदन राई र टेबलटेनिसमा तायाबुङ राईले गोल्डमेडल हात पारेका थिए । धरान नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगितामा निमा डोल्मा तामाङ र सुस्मा जिमीले गोल्डमेडल प्राप्त गरेका थिए ।

साथै काठमाडौँमा सम्पन्न राष्ट्रियस्तरको कराते प्रतियोगितामा डोल्मा र सुस्मा नै तृतीय हुन सफल भएकाले प्रोत्साहन स्वरूप सम्मान गरेको प्रधानाध्यापक राईले बताए । उनीहरूलाई एनप्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, स्कुलका निर्देशक प्रदीप राईलगायतले सम्मान गरेका थिए ।

साथै कक्षा १ देखि कक्षा ९ सम्मका परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको उनले बताए । कार्यक्रममा खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरेको थियो ।