सुनसरी । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाम इनरुवासहित मुख्य सडक तथा नाका र नेपाल–भारत सिमानाअन्तर्गत विभिन्न स्थानमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण माहोलमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्यक्षेत्रमा सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ ।
‘मतदानस्थल र केन्द्रको आवश्यक सूचना सङ्कलन र स्थलगत निरीक्षणको काम गर्दै जिल्लामा आवश्यक सुरक्षा प्रदान गर्न सुरक्षाकर्मी परिचालन गरेका छौं’–प्रजिअ यादवले भने । निर्वाचन सुरक्षाको लागि सुनसरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी खटाइएका छन् ।
स्थानीय तहको निर्वाचनमा ३ तहको सुरक्षा घेरा रहनेछ । पहिलोमा निर्वाचन स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बाहिरी घेरामा नेपाली सेना, सूचना सङ्कलनको लागि अनुसन्धानको जनशक्ति, दोस्रो घेरामा मोबाइल टोली, उपमहानगरपालिकामा तीन टोली, नगरपालिका र गाउँपालिकामा दुई टोली र तेस्रो घेरामा अन्य टोली तयारी अवस्थामा राखिनेछ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा नेपाल प्रहरी एक हजार १ सय ६६ जना, सशस्त्र प्रहरी ५ सय १२ जना, राष्ट्रिय अनुसन्धानका कर्मचारी १९ जना, नेपाली सेना ३ सय ३० जना र म्यादी प्रहरी दुई हजार ६८ जना गरी चार हजार ९५ जना खटाइएका छन् ।
निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको सुनसरी प्रशासनले जनाएको छ ।
वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न प्रजिअ यादवको आग्रह छ । निर्वाचनमा आउन सक्ने सम्भावित चुनौती चिर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा आवश्यक सबै तयारी पूरा गरिएको उनले बताए ।
शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी नेपाल प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् । सुनसरीमा ५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदान स्थल रहेकोमा ४४ वटा अति संवेदनशील, ८० संवेदनशील र ४२ वटा सामान्य रहेको सुनसरी प्रशासनले जनाएको छ ।
१२ वटा स्थानीय तह रहेको सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यसपटकको निर्वाचनमा जिल्लामा ५ लाख ३४ हजार ७ सय ३५ मतदाता रहेका छन् ।