सुनसरी । कोसी गाउँपालिकाले बनाएको स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । स्थानीय विशेषताहरूका बारेमा विद्यार्थीस्तरबाटै जानकारी गराउने उद्देश्यले निर्माण गरिएको स्थानीय पाठ्यक्रम आगामी शैक्षिकसत्रदेखि लागू गर्नेगरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । कोसी गाउँपालिकाले छैठौं गाउँसभामा ल्याएको नीतिअनुरूप आगामी नयाँ शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न लागेको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।

कोसी गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा एकदेखि आठकक्षासम्मको तयार गरेको हो । गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने सम्बन्धमा वैशाख ६ गते बृहत् गोष्ठीसमेत आयोजना गरेको थियो । गोष्ठीमा सहभागी  जनप्रतिनिधि, शिक्षक वर्ग, विभिन्न राजनैतिक दलहरूका प्रतिनिधि, अवकाशप्राप्त शिक्षक, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, विभिन्न जातजातिका प्रतिनिधिहरूले स्थानीय पाठ्यक्रम बनाउँदा समेटिनु पर्ने विषयहरूका बारेमा आ–आफ्ना कुरा राखेका थिए ।

उक्त बृहत् गोष्ठी कार्यक्रमको सहजीकरण पाठ्यक्रमविज्ञ डा. होमनाथ चालिसे र डा. प्रमोद खेरवारले गरेका थिए । गोष्ठीबाट पाठ्यक्रम तयार पार्न विभिन्न जातजातिका सम्भावित लेखकहरूको समेत छनोट गरिएको थियो । पुस्तक लेखनसम्बन्धी गाउँपालिकाबाट प्रशिक्षण लिएका लेखकहरूले पाठ्यक्रम तयार गरेका हुन् ।

स्थानीय भाषा संस्कृति, इतिहास, नेतृत्व योगदान रहन–सहन रीतिरिवाज, विभिन्न जातजातिको विशेषतालगायत कुरा समेट्दै तयार गरिएको पाठ्यक्रम शुक्रबार विमोचन गरिएको कोसी गाउँपालिकाका फोकल पर्सन नायव सुब्बा राजकिशोर मेहताले जानकारी दिए । कोसी गाउँपालिकाले बनाउने तयारी गरेको स्थानीय पाठ्यक्रम तथा पुस्तक लेखनको संयोजन सिभिल मिडिया एण्ड रिसर्च सेण्टर प्रालि काठमाडौंले गरेको हो ।

पालिकास्तरीय उक्त पाठ्यक्रममा महŒवपूर्ण विषयवस्तुको खोजी र अनुसन्धानपछि पाठ्यक्रम÷पाठ्यपुस्तकमा स्थानीय भौगोलिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, एवम् जातीय, भाषिक विविधता स्थानीय विषयवस्तु, रहन–सहन, रीतिरिवाज समेटिएको कोसी गाउँपालिकाका निवर्तमान अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

स्थानीयस्तरमा पाइने वनस्पति, जडीबुटी र पशुपंक्षीहरू, प्रदूषण, फोहोरमैला व्यवस्थापन, ऊर्जा, जलवायु परिवर्तनको पहिचानसँगै नदीनाला, तालकुण्ड, हिमाल र खनिज पदार्थलगायत समेट्दै पाठ्यक्रम तयार गरिएको उनको भनाइ छ । स्थानीय पाठ्यक्रममार्फत् विद्यार्थीलाई स्थानीय भौगोलिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, एवम् जातीय तथा भाषिक विविधताबारे जानकारी गराउने उद्देश्यले कक्षा एकदेखि आठ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार गरिएको अन्सारीले बताए ।

निर्माण गरिएको उक्त पाठ्यक्रम गाउँपालिकाको सबै विद्यालयमा अब अनिवार्य लागू गरिनेछ । ‘स्थानीय इतिहास लेखन गर्न हामी सफल भएका छौं’ पाठ्यक्रम विमोचन गर्दै अन्सारीले भने, ‘यसमा केही त्रुटि वा छुटपुट भएमा पछि परिमार्जन गर्न सकिन्छ,अब कोसीका विद्यार्थीहरू राष्ट्रिय मात्रै होइन, स्थानीय विषयमा पनि सक्षम हुनेछन् ।’

कोसीको स्थानीय अनिवार्य विषयको नाम कक्षा १ देखि ५ सम्म मेरो कोसी र कक्षा ६ देखि ८ सम्म हाम्रो कोसी राखिएको छ । उक्त पाठ्यक्रम स्थानीय तथा राष्ट्रिय लेखकसहित ३५ जना विज्ञहरूले सामूहिक रूपमा तयार गरेका हुन् ।