विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई  मोरङ अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

मोरङ अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मङ्गलबार जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी रकम बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथाकीले जानकारी दिए ।

आरोपितलाई तत्काल पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मिसिल प्रमाणबाट नदेखिएको ठहर गर्दै न्यायाधीश ढकालको इजलासले धरौटीमा छाड्ने आदेश दिएको सूचना अधिकारी  बुढाथाकीले जानकारी दिए ।

अदालतको आदेशसँगै कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोष कुँवर, कुमार बहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगर जनही ५० हजार धरौटीमा रिहा भएका हुन् । उक्त मुद्दाका पाँच आरोपित अझै फरार छन् ।

त्यसैगरी उक्त घटनामा अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपेका १५ जना नाबालकलाई पनि न्यायाधीश ढकालको इजलासले अविभावकको जिम्मा लगाउने आदेश दिएको छ । लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्यनरत एक बालिकालाई यौन दुव्र्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले हिंसात्मक घटना घटाउँदा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको चैत ६ गते राति मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले एक १४ वर्षीय नाबालकसहित १६ जनाविरुद्ध आजन्म कैदको माग गर्दै गत बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तीमध्ये ५ जना फरार छन् ।

कर्तव्य ज्यान मुद्दामा परेका नाबालकलाई गत मङ्गलबार न्यायाधीश ढकालकै इजलासले अभिभावकको जिम्मा लगाउन आदेश दिएको थियो । प्रहरीले घटनामा ६७ जना प्रत्यक्ष रूपमा संलग्न भएको ठहर गर्दै ६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसमध्ये एक नाबालकसहित १६ जना कर्तव्य ज्यानमा संलग्न भएको ठहर गर्दै कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले ५१ जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यसमध्ये १५ जना नाबालक थिए । सूचना अधिकृत बुढाथोकीका अनुसार अभद्र व्यवहारका ५१ जनामध्ये सरकारी वकिल कार्यालय र अनुसन्धान अधिकृतले सञ्जीव प्रधान, जस्वीन तामाङ, श्रवण यादव, अर्पण परियार, रामकुमार राई, अमृत खेवा लिम्बू, रूपेश रानामगर, सुजन अधिकारी, चन्द्रकान्त लामा, पासाङ तामाङ र प्रल्हाद खड्कालाई कुनै दाबी नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो ।

चैत ६ गते आइतबार साँझ मोरङको लेटाङमा उत्तेजित भीडमा मारिएकी २६ वर्षीया प्रहरी जवान श्रेष्ठको गोली लागेर मृत्यु भएको पुष्टि भएपछि घटनाले नयाँ मोड लिएको छ । श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट पनि गोली चलेको थियो भन्ने पुष्टि हुन सकेको छैन । घटनामा प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको थियो ।

प्रारम्भिक चरणमा प्रहरीले श्रेष्ठको मृत्यु उत्तेजित भीडले धारिलो हतियार प्रहार गर्दा भएको बताउँदै आएको थियो । तर, पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु ‘सक प्रिजेन्ट बाई फाइयर आम इन्जुरी’ का कारण भएको र घाँटीमा गोली फेला परेको उल्लेख गरेपछि घटना थप शङ्कास्पद बनेको हो ।

श्रेष्ठको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । प्रहरीकै गोली लागेर प्रहरीकै मृत्यु भएको हो कि भन्ने आशङ्कामा मृतकको शरीरमा भेटिएको गोली र प्रहरीका हतियारका गोली विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मेल नखाएपछि भीडबाटै चलेको गोलीले श्रेष्ठको मुत्यु भएको पुष्टि भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको भनाइ छ । घटनास्थलमा १० थान सट गनको खोका फेला पर्नुले भीडबाट पनि गोली चलेको पुष्टि हुने कोइरालाको भनाइ छ ।

यौन दुव्र्यवहारका आरोपी शिक्षक पौडेल जेल चलान
छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेल पुर्पक्षका लागि जेल चालन भएका छन् । जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । उनीविरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।