कोलम्बो । श्रीलङकाका राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

डेली मिररका अनुसार राजपाक्षेले सोमबार राजनीतिक भेटघाट गरेका थिए। जारी जनआन्दोलनका बीच सभामुख महिन्दा यापा आबेवर्देनाको अध्यक्षतामा २२५ सदस्यीय विधानसभामा कुन दलले १ सय १३ सिटमा पूर्ण बहुमत ल्याउने भन्ने कुराको टुंगो लगाउन आज पहिलो पटक संसदको बैठक बोलाइएको छ ।

गत आइतबार श्रीलङ्काका क्याबिनेट मन्त्रीहरूले आर्थिक सङ्कटलाई लिएर सरकार विरुद्ध बढ्दो जनआक्रोशको बीचमा आफ्नो पदबाट सामूहिक राजीनामा दिएका थिए। राष्ट्रपति राजापाक्षेले विपक्षी दलहरूलाई मन्त्रिपरिषद्मा सामेल हुन र एकताबद्ध ई सरकार गठन गर्न आह्वान गरेका छन्  ।

डेली मिरर अखबारले  उल्लेख गरेअनुसार श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र केही सरकारी सांसद्हरूले स्वतन्त्र बस्ने धम्की दिएपछि सरकारले आफ्नो दुई तिहाइ बहुमत गुमाएको छ। जे होस् एसएलपीपीले अहिले आफ्नो पक्षमा ११३ सिट जोगाउन कोशिस गरिरहेको छ ताकि यो साधारण बहुमतमा पनि सरकारमा रहन र महिन्दा राजापाक्षे प्रधानमन्त्री बन्न सक्ने देखिन्छ।

सरकारले आज पनि बहुमत देखाउन नसके नयाँ प्रधानमन्त्रीको टुङ्गो लगाउन सभामुखसमक्ष प्रस्ताव राखिने र राष्ट्रपति राजापाक्षेले निर्णय गरेबमोजिम नयाँ दललाई सरकार हस्तान्तरण गरिने डेली मिरर जनाएको छ ।

सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युब लगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले यसको विरोध गरेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो।