बिर्तामोड । चैत ४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’ को निर्माण पक्षले देशब्यापी प्रोमोशन शुरु गरेको छ । चलचित्र प्रदर्शनको मिति नजिकिंदै गर्दा निर्माण पक्ष यसको आक्रामक ब्यापार गर्न देश दौडाहामा लागेका छन् ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र युनिटले प्राय नेपाली चलचित्रमा देखिने गरेको दर्शकको चाहना यसले पुरा गर्ने बताएको छ । दुई घण्टा १५ मिनेटको सो चलचित्र नेपाली मनोरञ्जन क्षेत्रमा एउटा आयाम बन्न सक्ने दावी निर्माण पक्षको छ ।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । कवी भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म निर्माण गरेको निर्माता महेशबाबु तिमल्सिनाले जानकारी दिए ।

चिसो एस्ट्रेले काठमाण्डौ शहरमा गाउँबाट गएका अधिकांस पात्रको भोगाईको प्रतिनिधित्व गर्छ । उनीहरुको सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छन् ? चलचित्रले यही विषयलाई कलात्मक ढंगबाट प्रस्तुत गरेको तिमल्सिनाले बताए । उनले नेपालमा दर्शकले हेर्न चाहेको सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।

‘नेपाली सिनेमा हेर्दा सधैं केही न केही छुटेजस्तो भइरहन्थ्यो । नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’ उनले भने, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिनँ म । तर हामीले यो क्षेत्रमा एउटा इँटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौं ।’

निर्माण पक्षका अनुसार सृष्टि श्रेष्ठले चलचित्रमा शालीनताको चरित्रको निर्वाह गरेकी छिन् । उनले चलचित्रमा काम गर्दा व्यक्तिगत रुपमा पनि आफ्नो व्यक्तित्वमा परिवर्तन महसुस गरेको बताएकी थिइन् ।

दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् ।

सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।