विजयपुर / धरान उपमहानगरपालिकाले खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती उठाउने निर्णय गरेको छ । तर बस्तीवासीहरु भने प्रतिवाद गर्ने तयारीमा लागेका छन् ।

आइतबार धरान उपमहानगरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सर्वपक्षीय छलफल गर्दै २०७२ साल यता सरकारी जग्गा अतिक्रमण गरी बसेको वस्ती उठाउने निर्णय भएको थियो । उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाका अनुसार सर्वपक्षीय छलफलमा धरानमा अस्तित्वमा रहेका राजनीतिक दल, सुकुम्बासी सङ्घसंस्थाका प्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरीका प्रमुख प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसहित सर्वपक्षीय छलफल भएको थियो ।

धरान उपमहानगरभित्रका विभिन्न खोला किनारमा तथा सार्वजनिक जग्गामा विगतदेखि नै राजनीतिक दलका नेता, जनप्रतिनिधिको सक्रियता र कर्मचारीसहितको संलग्नतामा जग्गा अतिक्रमण गर्दै बस्ती बसाउने तथा खरिदविक्रि गर्ने गरिएको थियो ।

पछिल्लो समय सर्दु, सेउती, अँधेरी खोलालगायतका क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ती बसाउने साथै किनबेचसमेत हुने गरेको समाचार ब्लाष्ट दैनिकले प्रकाशित गरेको थियो । २ महिनादेखि अत्यधिक मात्रामा खोला किनार, खोलाको बहाव क्षेत्र, सार्वजनिक जग्गा अतिक्रमण गरी किनबेच हुँदै आएको छ ।

केही राजनीतिक दलका नेता, जनप्रतिनिधि र स्थानीय युवाहरुको सक्रियता अतिक्रमण गर्दै टहरा निर्माण गरी किनबेच हुने गरेको छ । स(साना टुक्रा पारेर १ लाखदेखि ३ लाखसम्ममा किनबेच हुने गरेको समाचार प्रकाशित भएपछि धरान उपमहानगर प्रमुख तिलक राईले बस्ती उठाउन सक्रियता देखाएका हुन् ।

वरिष्ठ अधिकृत खतिवडाले २०७२ सालयता सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती उठाउने निर्णय भएको बताए । उनले भने, ‘२०७२ सालसम्म बसोबास गरेको उपमहानगरले लगत सङ्कलन गरेको छ । त्यसपछि बसेका वस्ती उठाउने निर्णय भएको छ ।’ उनले धरानका सबै क्षेत्रका खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेको बस्ती उठाउने निर्णय भएको बताए । उनले भने, ‘सबै क्षेत्रको उठाउने हो । सुरुवात सर्दु खोलाबाट गरिन्छ ।’

उनका अनुसार अब केही दिनमै २०७२ सालदेखि यता सार्वजनिक जग्गामा बसेकाहरुलाई जग्गा खाली गर्न सूचना (प्रचारप्रसार) गर्ने र खाली नगरेमा बल प्रयोग गरी हटाउने बताए । उनले भने, ‘प्रचारप्रसार गर्छौं । नउठेमा प्रशासनले सुरक्षा दिन्छ । उपमहानगरले हटाउँछ ।’ उपमहानगरले सुरुवाती चरणमा वडा नं.-१७ देविथान र कालापानी साथै वडा नं. ११ को क्षेत्रमा पनि उठाउने निर्णय गरेको छ । छलफलमा राजनितिक दलहरुले बस्ती उठाउने क्रममा बाधा अवरोध भएमा सामुहिक प्रतिवाद गर्ने प्रतिवद्धता गरेका छन् ।

‘जनप्रतिनिधिलाई बस्ती पस्न दिँदैनौं’ : बस्तीवासी
धरान उपमहानगरले खोला किनार, बहाव क्षेत्र तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती उठाउने निर्णय गरेसँगै उक्त क्षेत्रका स्थानीय प्रतिवाद गर्ने तयारीमा जुट्न थालेका छन् ।

बस्तीवासीहरुले तयारी स्वरुप बस्तीका चोक-चोकमा कार्यक्रम गर्दै कुनै पनि अवस्थामा सुकुम्बासी बस्तीलाई सरकारले हस्तक्षेप गरे प्रतिवाद गर्ने तयारी गरेका छन् । धरान-१७ नमुना सुन्दर वस्तीमा सोमबार कार्यक्रम गर्दै कुनै पनि अवस्थामा सरकारले सुकुम्वासीलाई व्यवस्थापन नगरी उठाउने दुष्प्रयास गरे प्रतिवाद गर्न भौतिक, आर्थिक, राजनीतिक सहयोगका लागि पनि आह्वान गरेका छन् । 

आवश्यक परे फिल्डमा उत्रिन समेत तयारी रहने सुकुम्बासी सङ्घसंस्थाका नेतृत्वकर्ताले बस्तीका स्थानीयलाई आह्वान गरेका छन् । कार्यक्रममा सामाजिक अभियान्ता हर्क साङपाङले धरानमा ढुङ्गा, खोला बिक्रि गर्ने जनप्रतिनिधिहरु भएको बताए । उनले बस्ती संरक्षणमा आफूले सहयोग गर्ने बताए ।

सुकम्बासी बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुवास राईले बस्तीका मानिसलाई कुनै व्यवस्थापन नगरी उठाउने प्रयास गरे परिणाम नराम्रो आउने बताए । उनले लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई जसरी पनि व्यवस्थापन गर्नु पर्ने बताए । उनले भने, ‘जबरजस्ती उठाउने प्रयास गरेमा घर भएकै स्थानमा ज्यान जान्छ । हामी छोड्दैनौँ ।’

उनले नम्बरी घरजग्गा भई कोही सुकुम्बासी वस्तीमा बसेकालाई छोड्न समेत आग्रह गरे । सुकुम्बासी नमुना सुन्दर बस्ती संरक्षण समितिका अध्यक्ष अमर श्रेष्ठले कुनै पनि अवस्थामा बस्ती उठाउन नदिने बताए । उनले बस्तीमा सुुकुम्बासी विरोधी जनप्रतिनिधि र नेतालाई प्रवेशमा रोक लगाउने चेतावनी दिए । उनले भने, ‘जनप्रतिनिधिलाई बस्ती प्रवेश गर्न दिँदैनौ । आएमा कालोमोसो धस्छौँ ।’ त्यसका लागि बस्तीवासीलाई तयार रहन पनि उनले आग्रह गरे ।