विजयपुर । धरान उपमहानगरको आन्तरिक आय न्यून भएपछि आर्थिक सङ्कट निम्तिरहेको बेला आर्थिक व्ययभार थप्दै उपमहानगरकी उपप्रमुख जम्बो समूह लिएर भ्रमणमा निस्किएकी छन् ।
उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, कार्यपालिका सदस्य, वडासदस्य र कर्मचारीसहित ३५ जनाको जम्बो समूह लिएर मङ्गलबार ५ दिने भ्रमणमा निस्किएकी हुन् । आर्थिक सङ्कट भएकाले नै धरान उपमहानगरको १० औँ नगर सभाले चालु आर्थिक वर्षको विनियोजन ऐनमा अनुमानित आन्तरिक आयतर्फ १० प्रतिशत कटौती गरेको थियो ।
उपमहानगर आर्थिक प्रशासन महाशाखाका प्रमुख भेषराज अधिकारीले १० प्रतिशत कटौती गर्ने निर्णय गरी पारित गरेको तर, कुन कुन शीर्षकको कटौती गरेको भन्ने प्रमाणीकरण भएर नआएको बताए । उनले भने, ‘१० प्रतिशत बजेट घटाउने भन्ने निर्णय भएको जानकारी आएको हो । कुन कुन शीर्षकको हो भन्ने प्रमाणीकरण भएर आएको छैन ।’
कटौती गर्दा यस किसिमका भ्रमणका नाममा हुने फजुल खर्च कटौती गर्दा उपयुक्त हुनेथियो । तर, उपमहानगरका जनप्रतिनिधिहरूले सरकारको बजेट भ्रमणका नाममा फजुल खर्च गर्न पाउने शीर्षककोे बजेट कटौती गरेको देखिएन । अर्थात् आफूलाई फाइदा नपुग्ने किसिमको बजेट कटौती गरेको भ्रमणले नै पुष्टि गरेको छ । धरानका एक स्थानीय नेताले भ्रमणका नाममा सरकारी रकमको दोहन भएको बताए । उनले भने, ‘उपमहानगरमा आर्थिक सङ्कट निम्तिएर बजेट कटौती गरिएको छ तर, फजुल शीर्षकको गरिएन । यो बजेट दुरुपयोग हो ।’
उपप्रमुख भण्डारीले नै पनि एक औपचारिक कार्यक्रममा आन्तरिक राजस्व सङ्कलन न्यून भएकाले उपमहानगरले आर्थिक सङ्कट व्यहोरिरहेको बताएकी थिइन् । तर, उनले आफ्नै नेतृत्वमा ३५ जनाको जम्बो समूह लिएर निस्किँदा थप व्ययभार बढेको छ । उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाका अनुसार उपप्रमुख भण्डारी भ्रमणबाट भने छुटिसकेकी छन् ।
भण्डारी २ दिनपछि आफ्नो व्यक्तिगत तथा राजनीतिक कार्यतिर लागेको वरिष्ठ अधिकृत खतिवडाले जानकारी दिए । उनले भने, ‘उपप्रमुखज्यू अरू पनि दुई–तीनजना लिएर व्यक्तिगत कार्यमा लाग्नुभयो । अहिले हामी मात्रै भ्रमणमा छौँ ।’ उनले उपप्रमुख भण्डारीसहित ३५ जनाको समूह भ्रमणमा गएको बताए ।
३५ जनामध्ये ३ जना यातायातका चालक र सह–चालक, ३ जना उपमहानगरका कर्मचारी रहेको उनले बताए । खतिवडा पनि भ्रमण दलका सदस्य हुन् । अन्य भने वडासदस्यहरू र कार्यपालिकाका सदस्यहरू भ्रमण दलमा रहेका छन् । उनीहरू पोखरा, गोरखा, तानसेनलगायतका स्थानमा भ्रमण गर्दैछन् ।
उनलाई भ्रमणको बजेटको विषयमा जिज्ञासा राख्दा स्पष्ट पारेनन् । उनले फोनसम्पर्कमा भने, ‘दैनिक भ्रमण भत्ताबाट आएका हौँ । भत्ताबाट अपुग भए गोजीबाट थप्छौँ ।’ उनले पोखरा, तानससेन गोरखा जाने र त्यहाँका स्थानीय तहले गरेका कार्यका विषयमा जानकारी लिने बताए । उनले भने, ‘के के कानून बने, कसरी बने भन्नेबारे जानकारी लिने योजना छ ।’ उनीहरू शनिबारसम्म भ्रमणमा रहने बताइएको छ ।
उपमहानगर आर्थिक प्रशासन महाशाखाका प्रमुख भेषराज अधिकारीका अनुसार प्रदेश कानूनले तोकेअनुसार प्रमुख र उपप्रमुखले दैनिक २ हजार र अन्यले १५ सयका दरले भत्ता र यातायात खर्च पाउँछन् । उपप्रमुखले दैनिक २ हजारका दरले १० हजार भ्रमण भत्ता पाउँछिन् ।
अन्य ३४ जनाको भ्रमण भत्ता मात्रै २ लाख ५५ हजार रुपैयाँ हुन आउँछ । भ्रमण भत्ता बापत जम्मा २ लाख ६५ हजार रुपैयाँ खर्च आउने देखिन्छ । भ्रमण भत्ताका अलावा यातायात खर्च पनि पाउँछन्् । यातायात खर्चमात्र ५ दिनमा करिब ३ लाखभन्दा बढी हुन्छ ।