विराटनगर । लेनदेनमा हिसाब नमिलेपछि एकजना भारतीय ठेकेदारको हत्या भएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
काम गरेबापतको रकममा कुरा नमिल्दा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित डाँसखोलाको पुलको ‘पायलिङ मेसिन’ का ठेकेदार भारतीय नागरिक ५० वर्षीय रामकिसन मिर्णाको हत्या भएको खुलेको हो ।
राम किसनको हत्या आरोपमा इलाका प्रहरी कार्यालय पथरीले उदयपुरको कटहरी घर भई पथरीमा बस्दै आएका २८ वर्षीय कमल थापा भनिने कमल विकलाई सोमबार पक्राउ गरेको छ । पक्राउ परेका कमलले मृतक रामकिसनसँगै ‘पायलिङ मेसिन’ मा काम गर्दै आएका थिए ।
कमल पायलिङ मेसिनको रेखदेख र ठेक्का लगाउने काम गर्थे । पायलिङ मेसिन पुल बनाउन प्रयोग हुने गर्दछ । ठेक्का लगाएर काम गरेबापत आएको रकमको हिसाब नमिलेपछि भारतीय नागरिकको हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । पक्राउ परेका कमलले गत माघ २६ गते राति सँगै काम गर्ने भारतीय नागरिक रामकिसनको हत्या गरेको खुलेको छ । हत्या गरेको १३ दिनपछि कमल पक्राउ परेका हुन् ।
कारभित्र हत्या गरेपछि उदयपुरको जङ्गलमा फालिदिए
मृतक भारतीय नागरिक रामकिसनले पाँच वर्षदेखि नेपालका विभिन्न स्थानमा निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए । उनी डेढ महिनाअगाडि मोरङको कानेपोखरीमा पर्ने डाँसखोलाको पुलमा पायलिङ मेसिन लिएर गएका थिए । त्यसबेला कमलसँग उनको चिनजान भयो । पायलिङ मेसिनको ठेक्का कमलले लगाउने गरेका थिए । कमललाई रामकिसनले म्यानेजर बनाएका थिए । उनीहरूको ठेक्का वीरगञ्जमा पनि छ ।
‘वीरगञ्जमा साइट हेर्न जाऊँ भन्दै २३ माघमा कमलले रामकिसनलाई लिएर हिँडे । उनीहरू भारतीय नम्बर प्लेटको कारमा पथरीबाट रामकिसनले गाडी हाँकेर वीरगञ्जतिर हिँडेका थिए । २४ माघमा वीरगञ्जस्थित नारायणी हस्पिटलमा चलिरहेको साइट हेरेर उनीहरू त्यहीँ बास बसेर भोलिपल्ट २५ माघमा पथरी फर्कने भनेर रामकिसनले कार हाँकेकोले कमलले बाटोमा गाडी रोक्दै मदिरा सेवन गर्दै आए ।
मिर्चैया आएपछि उनीहरूबीच विवाद सुरु भएको र कमलको घर कटहरी भएकोले उनले मेरो घर जाऊँ भन्दा रामकिसनले कमललाई एक थप्पड लगाएछन् । पहिलादेखिको काम गरेबापत आएको रकमको हिसाब पनि नमिलेको तथा अपशब्द बोल्दै हेप्ने भन्दै गाडीभित्र उनीहरूबीच झगडा हुँदा कमलले गाडीभित्र रहेको मोबाइल चार्ज गर्ने तारले रामकिसनको घाँटी बाँधेर हत्या गरेको बयानको क्रममा स्वीकार गरेका छन्’–घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
हत्या गरेपछि कमलले रामकिसनको शव कारको डिक्कीमा राखेर आफै गाडी चलाएर उदयपुरको जङ्गलरतिर लागेका थिए । घटनास्थलदेखि करिब २५ किलोमिटर टाढा उदयपुरको कटहरी नगरपालिका–८ पटना भञ्ज्याङस्थित सिद्धिचरण राजमार्गबाट करिब २० मिटर तल शव फालेर कमल हिँडेको प्रहरीले जनाएको छ । माघ २६ गते बिहान १ देखि २ बजेको समयमा शव फालेको अनुसन्धानबाट खुलेको छ ।
कमलले हत्या गरेपछि रामकिसनको भारतीय नम्बर प्लेटको गाडी सुनसरीको भण्टाबारी नाका हुँदै भारतको वीरपुरस्थित स्कुलको कम्पाउण्डमा लगेर राखिदिएका थिए । ‘कारको चाबी बाटोमा फालिदिएको र रामकिसनले बोक्ने गरेको मोबाइल र सिमकार्ड सप्तकोसी नदीमा फालिदिएको खुलेको छ’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘शव व्यवस्थान गरी कार पनि भारतमा छोडेर आएपछि उनी सार्वजनिक बस चढेर पथरी आएको देखिएको छ ।’
हत्यापछि रामकिसन हराएको सूचना दिँदै प्रहरीमा
रामकिसनको हत्या गरेपछि कमल २७ माघदेखि नियमित काममा फर्किएको देखिएको छ । उनले हत्यामा आफ्नो संलग्नता नरहेको देखाउन निकै चलाखी पनि गरेको देखिएको छ । कमलले हत्या गरेपछि रामकिसन हराएको सूचना दिन प्रहरी कार्यालय पनि गएको देखिएको छ ।
परिवारको सम्पर्क बाहिर रहेका रामकिसनको २७ माघमा उनी चढ्ने कार वीरपुरमा भेटेपछि मृतकका आफन्त भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको सम्पर्कमा आएका थिए । मृतकका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा ६ फागुनमा हुलियासहित रामकिसन हराएको निवेदन दिएका थिए ।
घटना शङ्कास्पद देखिएपछि इप्रका पथरीले मिहिन ढङ्गले अनुसन्धान अगाडि बढायो । यही बीचमा घटनामा संलग्न कमल पनि रामकिसन हराएकोले खोजी गरिदिन इप्रका आएका थिए । ‘रामकिसनसँग सँगै काम गर्ने व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा कमललाई पनि बोलाएका थियौं । उनको गतिविधि शङ्कास्पद थियो । हत्या हुनुभन्दा अगाडि कमलसँग मृतक वीरगञ्ज गएको खुलेपछि उनले हत्या स्वीकार गरेका थिए’ एक प्रहरी अधिृकतले भने, ‘कमलले हत्या गरी शव फालेको १२ दिनपछि ७ फागुनमा रामकिसनको शव भेटिएको थियो । घटनास्थलमा कमलको सिडिआर पनि मिलेको छ ।’
मृतकका आफन्तले रामकिसनले लगाएको लुगा र अन्य विभिन्न आधारबाट शवको सनाखत गरेको प्रहरीले जनाएको छ । इप्रका पथरीले पक्राउ परेका कमललाई थप कारबाहीको लागि सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको छ । हत्या गरेको स्थान र शव भेटिएको स्थान उदयपुर भएकोले कारबाही प्रक्रियाको लागि कमललाई उदयपुर पठाएको हो । आज (मङ्गलबार) कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने उदयपुर प्रहरीका प्रवक्ता डिएसपी देवप्रसाद गौतमले जानकारी दिए ।