धनकुटा । साउदी अरबमा रहेका श्रीमान् रामकुमार लिम्बूसँग हरेक दिनजसो विष्णुमाया कुरा गर्थिन् । उनीहरू फोनमार्फत् सुख–दुःख साट्थे ।
बालबच्चाको पढाइदेखि भान्साको नुन–तेल र साहुको ऋणका कुरा गरेर योजना बनाउँथे उनीहरू । वि.सं. २०६० सालमा साउदी अरब उडेका छथर जोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार छुट्टीका बेला घर आउजाउ गरिरहन्थे । पोहोर साल घर आउने कुरा थियो, तर कोरोना महामारीले गर्दा उनी आउन पाएका थिएनन् ।
सधैँ जस्तै गत असोज २६ गते पनि विष्णुमायालाई साउदी अरबबाट फोन आयो तर, त्यो फोन रामकुमारको थिएन । रामकुमारको मृत्युको खबर सुनाउने युवराज कार्कीको फोन थियो । रामकुमारको मृत्युको खबरले विष्णुमाया विक्षिप्त बनिन् । त्यो अशुभ खबर सुनेदेखि विष्णुमायाका आँखा ओभाएका छैनन् ।
रामकुमार विगत १८ वर्षदेखि साउदीस्थित ‘आइद दाहिम अल हमाद एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनी’ मा मजदुरी गर्दै आइरहेका थिए । बाटोमा काम गरिरहेका बेला गाडी आयो । गाडीलाई साइड दिने क्रममा पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको खबर साउदीमै रहेका उनका साथी युवराज कार्कीले फोनमार्फत् जानकारी गराएका थिए ।
‘मृत्यु हुनुभन्दा एक हप्ताअघि भिडियो कलमा फोन गरेर निको भएर चाँडै घर फर्किन्छु भन्नुभएको थियो’ गहभरि आँसु पार्दै विष्णुमायाले भनिन्, ‘त्यसको एक हप्तापछि एक्कासि मृत्युको खबर सुन्नुप¥यो । उहाँको मृत्युको खबर सुन्दा सपनाजस्तै लागेको छ ।’
विदेशमा श्रीमान् बितेको चार महिना बितिसक्दा पनि शव नआएपछि विष्णुमाया अहिले चिन्तामा छिन् । साउदी अरबमा मृत्यु भएका आफ्ना श्रीमान्को शव नेपाल ल्याउन पहल गरिदिन सरकार समक्ष उनले अनुरोध गरेकी छन् । उनीहरूका १४ वर्षका एक छोरा छन्, रविन लिम्बू ।
उनीहरू अहिले मोरङको सुन्दरहरैंचा–६ गछियास्थित सुकुम्बासी जग्गामा बस्दै आइरहेका छन् । जीविकोपार्जनका लागि गछिया खोलामा बालुवा चाल्ने काम गर्दै आइरहेको विष्णुमाया बताउँछिन् ।
मृतकका साढुदाइ कमलकुमार राईले गत कात्तिकमा शव नेपाल ल्याइदिन वैदेशिक रोजगार बोर्डको सचिवालयलाई निवेदन दिएका थिए । उनका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले गत कात्तिक ८ गते नेपाली राजदुतावास रियाद साउदी अरबलाई पत्र काटेर रामकुमार लिम्बूको शव नेपाल पठाउन आवश्यक सहयोगका लागि अनुरोधसमेत गरेको थियो ।
साउदीबाट शव आउन ६ देखि ८ महिना समय लाग्ने र शव आउनुभन्दा २४ घण्टाअघि परिवारलाई खबर आउने जानकारी बोर्डले आफूहरूलाई गराएको विष्णुमायाले बताइन् । उनी भन्छिन्, ‘तर, शव कहिले आइपुग्ने हो भनेर पर्खिरहेकी छु । छिटै ल्याइदिन पहल गरिदिए हुन्थ्यो ।’