धरान । पटक पटक सचेत गराउँदा पनि मास्क लगाउन अटेर गर्नेहरूबाट एकसातामा तेह्रथुम प्रशासनले १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

एकपटकमा तेह्रथुम जिल्ला प्रशासन कार्यालयले १ सय रुपैयाँ जरिबाना लिने गरेको छ । एक साताका बीचमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले १५ हजार २ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो । ‘अटेर गर्ने पटकेहरूबाट एक सातामा १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेका छौं’ प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले फोनसम्पर्कमा भने, ‘पहिलो पटक भएमा सचेत गराएर छाड्ने गरेका छौं । सचेत गराउँदा गराउँदै पनि अटेर गर्नेलाई सय रुपैया जरिबाना लिने गरेका छौं ।’ तेह्रथुमले ओमिक्रोन भाइरस फैलिँदै गएपछि जिल्लाभरि ‘तपाईंको मास्क खोई’ अभियान सञ्चालन गरेको थियो । 

मास्क नलगाउनेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिएको छ । पहिलो चरणमा जिल्लाभरिका रेडियो तथा मिडियाहरूमार्फत् सूचना दिने, जिङ्गल बजाउने कार्यक्रम तय गरेको थियो । उक्त कार्यक्रमसँगै प्रहरीहरूले पनि बजार बजारमा सचेत गराउने कार्यक्रम गरेको थियो । त्यस्ता कार्यक्रमलाई अटेर गरी मास्क नलगाइ हिँड्नेलाई ठाउँको ठाउँ १ सय रुपैयाँ जरिबाना लिने गरिएको प्रजिअ घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेको नेतृत्वमा दैनिकजसो तेह्रथुमका मुख्य बजार, भीडभाड हुने क्षेत्र तथा हाटबजारमा अनुगमन गरिएको थियो । 

तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवाका अनुसार प्रजिअ घिमिरेको नेतृत्वमा तेह्रथुमको म्याङ्लुङ, फेदाप गाउँपालिकाको केन्द्र पोक्लाङबाङ बजार, जिरी, लसुने, वसन्तपुर तथा छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारको अनुगमन गरिएको हो । उनका अनुसार मास्क खोई अभियानमा मास्क नलगाएकाहरूलाई सचेत गराउने र सचेत गराउँदा अटेर गर्नेलाई एक सय रुपैया जरिबाना गराउने गरिएको थियो ।

प्रजिअ घिमिरेले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण नभई नागरिक तहबाटै सचेतना अपनाउनु पर्ने भएकाले नागरिकहरूलाई सचेत रहनका लागि अभियानमा निस्किएको बताए । पहिलो चरणमा जनचेतना दिने, सल्लाह परामर्श दिने र अटेर गर्नेलाई कारबाही गर्ने गरिएको छ । त्यसक्रममा सादा पोसाकमा प्रहरी पनि खटिएका छन् । अहिले तेह्रथुममा सबैजसोले अनिवार्य मास्क लगाउने गरेका छन् ।