धरान । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त धरान मोडल कलेजले यस शैक्षिक सत्रबाट नयाँ विषय अध्यापन गर्ने भएको छ । 

कलेजले स्नातक तहमा ब्याचलर इन सोसियल वर्क (बिएसडब्ल्यू) विषय अध्यापन गराउन लागेको हो । यो अन्यत्र पढाइ भए पनि धरानमा भने पहिलोपटक धरान मोडल कलेजले ल्याएको हो । कलेजले मंगलबार पत्रकार सम्मेलन गर्दै बिएसडब्ल्यू विषय अहिले सबैभन्दा बढी माग भएको विषय भएकाले पनि विद्यार्थीको आकर्षण हुने कलेजका प्रमुख प्रविन राईले बताए । उनले यसअघि धरानमा यो विषय नहुँदा इटहरी, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यता थियो । 

यस विषय अध्यापन गरिसकेका विद्यार्थीहरूले सरकारी, गैरसरकारी तथा स्वास्थ्यको क्षेत्रमा पनि रोजगारी पाउन सक्ने जनाइएको छ । ८ सय पूर्णाङ्कको यो विषय चार वर्षे हो । प्लस टुमा जुनसुकै सङ्काय अध्ययन गरी डी प्लस ग्रेड ल्याएका विद्यार्थीहरूले पढ्न पाउने बिएसडब्ल्यू कार्यक्रमका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनले चार दिन सैद्धान्तिक र दुई दिन व्यवहारिक शिक्षा हुने भएकाले विद्यार्थीहरूका लागि उपयोगी विषय रहेको दाबी गरे । 

यता विएसडब्ल्यूका स्रोत व्यक्ति तुलसी आचार्यले विद्यार्थीहरूले सामाजिक कार्यको अवधारणा, सिद्धान्त, अनुसन्धान विधि र अभ्यास व्यवहारिक रूपमा गराउने बताए । उनले भने, ‘थेसिस लेख्दा अन्यत्रबाट सारेर लेखेजस्तो हुँदैन यहाँ, यहाँ चाहिँ त्यस विषयमा अभ्यास नै गराइन्छ ।’