विजयपुर । कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट सङ्क्रमण दर तीव्र रूपमा वृद्धि भएपछि त्रिभुवन विश्वविद्यालयका वार्षिक तथा सेमेस्टर प्रणालीका सबै र लोक सेवा आयोगले लिने लिखित परीक्षाहरू स्थगित भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुस ९ गतेपछिका कुनै पनि परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । बिहीबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकपछि कार्यालयले सूचना जारी गर्दै त्रिविले सञ्चालन गर्ने कुनै पनि परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।

तर, शुक्रबार र शनिबार (आज र भोलि) का निर्धारित परीक्षा तथा प्रवेश परीक्षा भने नरोकिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पनिकाको सूचनामा कोरोनाको ओमिक्रोन भेरियण्टको तीव्र सङ्क्रमणका कारणले उपत्यका तथा बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापकसेमत सङ्क्रमित भएकाले त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले सम्पूर्ण परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

साथै लोकसेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षा पनि स्थगित भएको छ । लोक सेवा आयोगको बिहीबार नै बसेको बैठकले माघ ११ गतेदेखि माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गरेको लोक सेवा आयोग परीक्षा सञ्चालन शाखाले सूचना गर्दै जानकारी दिएको छ ।

आयोगका उपसचिव एकनारायण शर्माद्वारा हस्ताक्षरित सूचनामा आयोगमा कार्यरत कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखापरेकाले परीक्षा स्थगित गरिएको उल्लेख छ ।

फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रमका विषयमा ७ दिनअघि पूर्व सूचना दिई पुनः तालिकीकरण गरी सञ्चालन गर्ने जारी सूचना उल्लेख छ । तर, लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्व निर्धारित कार्यक्रम भने यथावत् रूपमा सञ्चालन गरिने जनाएको छ ।