धरान । धरानमा कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या दैनिक दोब्बर हुँदै गाएको छ । दैनिक दोब्बर सङ्क्रमित बढेकाले सुनसरीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित धरानमा देखिएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुनसरीमा एकैदिन २ सय ८६ जना सङ्क्रमित पाइएकोमा धरानमा मात्र १ सय ८७ जना रहेका छन् । धरानपछि इटहरीमा ७२, दुहबीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोसी गाउँपालिका र वराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१ जना सङ्क्रमित पाइएका छन् ।

सरकार र डब्ल्युएचओले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी अत्यधिक भीडभाड गर्नु, मास्क नलगाउनु, सामाजिक दूरी पालना नगर्नु, होम क्वारेन्टिनमा बसेका भनिएकाहरू पनि खुलेआम बाहिर घुमघाम गर्नु नै मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

ओमिक्रोन भेरियन्ट फैलँदै गर्दा धरानमा भने खासै स्वास्थ्य सुरक्षा अपनाइएको थिएन । विभिन्न सांस्कृतिक कार्यक्रम, पार्टी, भोजभतेर भीडभाडका साथ सञ्चालन भएका थिए ।

यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना सङ्क्रमित चिकित्सक, नर्स र कर्मचारीको सङ्ख्या दिनदिनै बढिरहेको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणि पोखरेलका अनुसार मङ्गबारमात्रै ६ जना चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिष्ठानमा उपचारका लागि आएका व्यक्तिहरूको पिसिआर गरिएका ३ सय ७६ जनामध्ये २ सय ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैमा प्रतिष्ठानकै चिकित्सकहरू पनि परेका हुन् । प्रतिष्ठानमा कोरोना सङ्क्रमणको अवस्था भयावह रहेको छ । उनले भने, ‘प्रतिष्ठानमा प्रदेश १ र २ का बिरामी उपचारका लागि आउने भएकाले तिनै बिरामीको उपचारका क्रममा चिकित्सक र नर्सहरू सङ्क्रमित भएका हुन् ।’

उनले एकसाता यता कतिजना चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी सङ्क्रमित भए त्यसको तथ्याङ्क भने निकाल्न बाँकी रहेको बताए । सङ्क्रमित चिकित्सक, नर्स र कर्मचारी होम आइसोलेसनमा बसेको पनि बताए । बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीहरू सङ्क्रमित भएपछि ओपिडी, वार्ड, शल्यक्रिया, शिक्षण, अनुसन्धान र दैनिक गतिविधिमा असर परेको सह–प्रवक्ता डा. पोखरेलले बताए ।

धरानमा बढ्दो सङ्क्रमणको बारेमा नगरप्रमुख तिलक राईले भने, ‘कोरोना सङ्क्रमणका बारेमा सोमबारमात्र प्रमुख जिल्ला अधिकारीको कक्षमा सुनसरीका सबै स्थानीय तहका मेयर र अध्यक्षहरूको बैठक बसेका थियौं । डिसिसिएमसीको त्यो बैठकले परिस्थिति अनुकूल निर्णयहरू गर्ने भनेको छ ।’