पथरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँस्थित कृषि सडकको कालोपत्रे उप्किएको ठाउँमा फेरि कालोपत्रे गरिने भएको छ ।

आइतबार गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र इन्जिनियर रञ्जन निरौलासहितको टोलीले सडक अनुगमन गरेको छ ।

अनुगमन टोलीले उप्किएको स्थानमा कटिङ गरी पुनः कालोपत्रे गर्ने जनाएको छ । उपाध्यक्ष इङ्नामले ठेक्का लागेको ५ महिनापछि सडक कालोपत्रे थालेर ठेकेदारले ढिलासुस्ती गरेकाले पनि समस्या आएको बताइन् ।उनले स्टिमेटअनुसार नै काम हुनुपर्ने बताइन् ।

यही सडकको पिङडाँडा चोकमा गरिएको कालोपत्रे पनि यस्तै समस्या आएर ४० मिटरसम्म भत्काएर पुनः कालोपत्रे गरेको उनले बताइन् ।

कालोपत्रे गरिएको सडकमा उप्काउँदा बेससहित सबै उप्किने भएकाले सडक मापदण्डअनुसार गुणस्तरीय नै बनेको इन्जिनियर रञ्जन निरौलाले दाबी गरे । अनुगमनको क्रममा कालोपत्रे खनेर नापजाँच गरिएको थियो । नाप्ने क्रममा बेस ६ इन्च राख्नुपर्नेमा ७ इन्चसम्म पुगेको र थिकनेस ३० एमएमभन्दा बढी नै रहेको पाइएको उनले बताए ।

त्यसैगरी चौडाइ ५ मिटर पुगेको थियो । ‘कमसल काम भएको भए छुँदै बुरुरु निस्किनुपर्ने हो तर, त्यहाँ पिच गर्ने बित्तिकै उप्काएर यस्तो समस्या आएको हो’–इन्जिनियर निरौलाले भने ।

पुस २३ गते रतुवामाई नगरपालिकामा रहेको वीर निर्माण सेवाले तत्काल पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको थियो । भोलिपल्ट बिहान स्थानीयले खड्ग श्रेष्ठको घरछेउको होमपाइप जडान गरेको ठाउँमा पिच उप्काउँदा सजिलै उप्किएपछि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

त्यसपछि विभिन्न सञ्चारमाध्यमले समाचार लेखेका थिए । सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानीयले बताएका थिए । उनीहरूले मापदण्ड, गुणस्तरीय काम हुनुपर्ने र उप्किएको ठाउँमा पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयको माग थियो ।

सडक निर्माणको काम सम्पन्न भएर गाउँपालिकालाई हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए ठेकेदारले पुनः मर्मतको काम गर्नुपर्ने उपाध्यक्ष इङ्नामको भनाइ छ ।

पौडेल चौकदेखि पिङडाँडासम्म १.७ किलोमिटर सडक निर्माण गर्नका लागि ९६ लाख ४६ हजार रुपैयाँमा वीर निर्माण सेवाले ठेक्का पाएको थियो । सङ्घीय सरकारबाट आएको अनुदान र कानेपोखरी गाउँपालिकाको बजेटमा उक्त सडक निर्माण भएको हो ।

sdak-pathri