धरान । २२ औं गोधुली रनिङ कपको उपाधि धरान–१६ ले जितेको छ ।

धरान रंगशालामा आइतबार सम्पन्न फाइनलमा धरान–१६ ले धरान १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै नगद १ लाख ५० हजार रुपैयाँ जितेको छ । निर्धारित समयसम्म गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा धकेलिएको थियो । 

यता उपविजेतामा चित्त बुझाएको धरान १३ ले ७५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । धरान १६ गत वर्षको साविक उपविजेता हो । पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा धरानका २० वटै वडाहरू सहभागी बनेका थिए ।

विजेताहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, आयोजक गोधुली क्लबका कार्यबाहक अध्यक्ष सतिस केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।