आज माघे सङ्क्रान्ति विभिन्न फलाहार तथा कन्दमूल खाएर मनाइँदै छ । यसलाई मकर सङ्क्रान्ति पनि भन्ने चलन छ । आजका दिन बिहानै उठेर मकर स्नान गर्नुपर्ने धार्मिक मान्यता छ । 

विशेष गरेर पूर्वको माई खोलामा मेला लाग्ने गरेको थियो । तर, कोरोना महामारीका कारण यस वर्ष पनि मेला रोकिएको छ । आजको दिनलाई सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन मानिन्छ । आजका दिन तिलको लड्डु, घ्यू, चाकु, भुजाको लड्डु साथै तरुल, सखरखण्ड, पिँडालुलगायतका परिकार खाइन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल खानाले जाडोमा शरीरलाई न्यानो पार्ने जनविश्वास रहेको छ । 

पहाडे समुदायमा मात्रै नभई मधेशी समुदायमा पनि यस चाडलाई विशेष पर्वका रूपमा मनाउने गरिएको छ । मैथिल तथा थारू समुदायले आजका दिन विशेष पर्वको रूपमा मनाउने गरेका छन् । त्यस्तै उपत्यकामा नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरेका छन् । त्यस्तै मगर जातिको पनि मुख्य चाडका रूपमा लिइन्छ । आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ । वर्षमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गर्दछ । जसलाई उत्तरायण र दक्षिणायन भनिन्छ । शास्त्रमा उत्तरायणलाई सकारात्मक र दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ ।