विराटनगर । नेपाल–भारत सीमा नाकामा केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेको छ । भारतबाट विराटनगरको रानी नाका हुँँदै यही पुस महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो दर दैनिक रूपमा बढ्दै जाने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर, सीमामा सङ्क्रमितलाई अलग गर्ने अहिलेसम्म कुनै संरचना तयार भएको छैन ।

सरकारले सम्भावित सङ्क्रमितलाई राख्न भनी विराटनगर–१६ जुट मिल्सभित्र बनाउन सुरु गरेको १ हजार शøयाको होल्डिङ सेन्टर अहिलेसम्म निर्माण कार्य पूरा भएको छैन । समयमै होल्डिङ सेन्टर निर्माण नहुँदा भारतबाट आएका सङ्क्रमित सोझै घर जाने गरेका छन् । सङ्क्रमितहरूलाई उनीहरूको स्थायी ठेगाना रहेको स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ ।

रानी नाकाबाट पुस महिनामा नेपाल आउने दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ‘तर, सङ्क्रमितहरूलाई राख्ने विराटनगर– १६ मा बनेको होल्डिङ सेन्टर तयार भएको थिएन’ सीमा नाका रानीमा रहेको हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘केही उपाय नभएपछि घरै पठाइदियौं ।’ यसरी सङ्क्रमित भएको पुष्टि हुँदा पनि समयमै सङ्क्रमितलाई राख्ने आइसोलेन र होल्डिङ सेन्टर तयार भइनसक्दा सङ्क्रमित सिधै घर जाने गरेका छन् । यसरी सङ्क्रमित सिधै घर जाँदा सङ्क्रमण फैलिने खतरा बढेर जाने चिकित्सकहरूले बताएका छन् ।

सरकारले ५ वैशाखमै नेपाल–भारत सीमानजिक विराटनगरसहित ८  ठाउँमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । १३ वैशाखमा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर, अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन । अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिनाभित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष्य लिएको थियो तर, निर्माण सुरु गरेको ६ महिनामा पनि काम पूरा भएको छैन ।

सीमा क्षेत्रबाट प्रवेश गरेका सङ्क्रमितहरूलाई नाकामै रोकेर परीक्षण गर्ने र सङ्क्रमण पुष्टि भए उनीहरूलाई तत्कालै होल्डिङ सेन्टरमा पठाउनु पर्ने हो । तर, अहिले सीमा नाकाबाट प्रवेश गरेकाहरूमा सङ्क्रमण देखा पर्दा पनि होल्डिङ सेन्टरको निर्माण नै सकिएको छैन । अपेक्षाकृत रूपमा ढिलो गरी होल्डिङ सेन्टरको निर्माण हुँदा सम्भावित सङ्क्रमितहरूको पहिचान र सङ्क्रमणको रोकथाममा चुनौती थपिएको छ ।

प्रदेश १ मा विराटनगरको रानीसहित झापाको हडियामा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणको व्यवस्थापन जिम्मा लिएर ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनलाई ठेक्का लगाएर निर्माणको काम अघि बढाएको छ । तर, सङ्क्रमणको जोखिम वृद्धि भइसकेका कारण होल्डिङ सेन्टरको औचित्यमाथि नै प्रश्न उठ्ने देखिएको छ ।

विराटनगरमा बन्ने होल्डिङ सेन्टरमा मूल क्वारेन्टाइन ब्लक, किचेन डाइनिङ र शौचालय गरी ५९ वटा ब्लकहरू बनिरहेका छन् । जसमध्ये किचेन डाइनिङ १५ वटा, चर्पी २२ वटा, सीमा नाकाबाट प्रवेश गर्ने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन ब्लक २० वटा र प्रशासनिक ब्लक दुईवटा रहेका छन् ।

नेपाली सेनाका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ । बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए ।

चार दिनमा काम सक्न मुख्यमन्त्रीको निर्देशन
समयमै निर्माण सम्पन्न नभएपछि विराटनगर–१६ मा निर्माणाधीन होल्डिङ सेन्टर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित मन्त्रीहरूले निरीक्षण गरेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला समयमै निर्माण सम्पन्न नभएपछि निर्माणाधीन होल्डिङ सेन्टर र सीमा नाकाहरूको निरीक्षण आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादवसहितको टोलीले गरेको हो ।

अनुगमनको क्रममा मुख्यमन्त्री राईले निर्माणाधीन होल्डिङ सेन्टरको निर्माण कार्य चार दिनभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । कोरोनाको सङ्क्रमण दर बढिरहेको भन्दै उनले सीमा नाकामा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेड तयारी अवस्थामा राख्न उनले निर्देशन दिए ।

मुख्यमन्त्री राईले खोप अभियानलाई पनि क्रमशः बढाउँदै लाने बताए । उनले सबै राजनीतिक दलहरूका बीचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले चार दिनभित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामग्री आफूले दिने बताए । ‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षा कोष, महानगरपालिकासँग समन्वय गर्नुप¥यो । पानी तान्नका लागि उपकरण छैन भने मकहाँ आउनुहोस् ।’

सीमाक्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिए । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उता पारि गएँ भने पनि खोप कार्ड अनिवार्य गर्नुहोस्’ उनले भने, ‘हामी सबै मिलेर नै महामारीलाई नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मनोज सुब्बाले चार दिनभित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए । जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ ।