विजयपुर । धरानस्थित विष्णु मेमोरियल स्कुलले धरान उपमहानगरपालिका तथा सरकारका नीति, नियम अक्षरशः पालना गर्ने जनाएको छ ।

उपमहानगरपालिकाको नीति, नियमविपरीत अभिभावकबाट बढी शुल्क लिएको आरोप लागेपछि स्कुलले मङ्गलबार पत्रकार सम्मेलन गरेर नीति, नियम पालना गर्ने जनाएको हो । स्कुलले नीति, नियम पालना गर्न तयार रहेको तर, त्यस्तो नीति, नियम सबै विद्यालयमा कार्यान्वयन गराउनु पर्ने जनाएको छ ।

पत्रकार सम्मेलन गरी शुल्कका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा स्कुलका प्रिन्सिपल बेनिन्द्र कट्वालले स्कुल पूर्णरूपमा राज्यको कानूनअनुसार सञ्चालित रहेको र उपमहानगरको निर्णय पनि अक्षरशः पालना गर्ने बताए । उनले भने, ‘उपमहानगरका निर्णय अक्षरशः पालना गर्छौं तर, विष्णुलाई मात्रै निर्णय लागू गर्नु भएन ।’

उनले केही मात्रामा सबै विद्यालयले शुल्क वृद्धि गरेको बताए । ‘सबै विद्यालयले शुल्क वृद्धि गरेका छन् । हामीलाई मात्रै किन निर्देशन गरिन्छ । हामीले अन्यभन्दा केही बढी शुल्क वृद्धि गरेका छौँ, यो हाम्रो बाध्यता हो’ उनले भने, ‘हामीले शिक्षक, कर्मचारीलाई सरकारी स्केलमा तलब दिएका छौं साथै गुणस्तरीय शिक्षा पनि दिएका छौँ ।’ उनले अन्य स्कुलले पनि १० देखि २० प्रतिशत र सोभन्दा बढी पनि शुल्क वृद्धि गरेको बताए । उनले उपमहानगरको निर्णयमा अभिभावकको सहमतिमा शुल्क वृद्धि गर्ने भनिएकाले ९० प्रतिशत अभिभावकको सहमतिमा शुल्क वृद्धि गरेको बताए ।

तर, केही अभिभावकहरूले हस्ताक्षरसहित कानूनी उपचारको माग गर्दै उपमहानगरमा उजुरी दिएका छन् । उनीहरूको मात्रै असहमति रहेको कट्वालले दाबी गरे । उनीहरूलाई पनि सहमतिका लागि वार्तामा बोलाएको तर, अभिभावक नआएको उनले बताए । सबै विद्यालयले वृद्धि भएको शुल्क घटाएमा आफ्नो स्कुलले पनि समायोजन गर्ने उनले बताए ।

असहमत हुने अभिभावकलाई कोभिडको कारणले समस्या भई शुल्क तिर्न नसक्ने अवस्था हो भने पूर्ण छात्रवृत्ति दिने पनि उनले बताएका छन् । उनले भने, ‘शुल्क तिर्नका लागि समस्या भएको हो भने उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिन्छौं । प्रमाणसहित आउनुप¥यो ।’ उनले ४ वर्षपछि मात्रै शुल्क वृद्धि गरेकाले अलि धेरै देखिएको बताए । शिक्षक, कर्मचारीको तलब भत्ताका लागि मात्रै ३० प्रतिशत वृद्धि गर्नुपरेको उनले बताए ।

अभिभावकको कुरालाई सम्बोधन गरी शिक्षकको तलबका लागि वृद्धि भएको शुल्कमा १० प्रतिशत छुट गरी ३० प्रतिशतमा झार्न आफू तयार भए पनि अभिभावक नमानेको उनले बताए । ‘३० प्रतिशत शिक्षकको तलबका लागि वृद्धि गर्यौं । १० प्रतिशत अन्य खर्च स्कुलले नै व्यहोर्छ भनी वार्तामा बोलाउँदा अन्तिममा अभिभावक आउनुभएन’ उनले भने, ‘अभिभावकले गलत बाटो अवलम्बन गर्नुभयो । हामी वार्तादेखि समस्या समाधानमा लागेका थियौंँ । उहाँहरू उजुरी गर्न जानुभएछ ।’

शुल्कको कुरालाई अभिभावकले नै राजनीतिकरण गरेको उनले आरोप लगाए । उनले राजनीतिकरणले स्कुलको आर्थिक प्रशासनका ५ विद्यार्थी सङ्गठनले ताला लगाइदिएको बताए । उनका अनुसार ५ विद्यार्थी सङ्गठनले आइतबार स्कुलको आर्थिक प्रशासनमा ताला लगाएका हुन् ।

उनले विद्यार्थी सङ्गठन वार्ताका लागि भन्दा पनि योजनाबद्ध तरिकाले ताला लगाउनका लागि नै आएको दाबी गरे । उनले भने, ‘हामी वार्ताका लागि बसिरहेका छौँ । विद्यार्थीहरूले ताला लगाए । यो राजनीतिक रूपमा ठीक होइन । सबै समस्या त वार्तादेखि नै समाधान हुन्छ नि ।’ उनले विद्यार्थी सङ्गठनहरू विद्यार्थीको हकहितका लागि हो भने विष्णु स्कुलका विरुद्धमा मात्रै होइन, सबै निजी तथा संस्थागत विद्यालयका विकृति विसङ्गतिविरुद्ध लाग्नुपर्ने बताए ।

अन्य केही विद्यालयले विष्णु स्कुलको भन्दा बढी शुल्क लिएको बताउँदै विष्णुको विरुद्धमा मात्रै लाग्नुले नियत नै गलत हो कि भन्ने शङ्का उत्पन्न भएको उनले बताए । उनले अभिभावक तथा अभिभावक सङ्घले पनि एउटा विद्यालयका विरुद्धमा नभई सम्पूर्ण विद्यालयका विरुद्धमा लाग्नुपर्ने बताए ।