विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेजका विद्यार्थीले कलेजअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् । अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले मङ्गलबार प्रदर्शन गरेका हुन् ।

दुई सातायता निरन्तर आन्दोलनमा उत्रिँदा पनि नोवेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना नगर्न र पठन–पाठन नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले मङ्गलरबारदेखि प्रदर्शन चर्काएका हुन् ।

विद्यार्थीहरू नोवेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाख बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा नोवेल मेडिकल कलेज रहेपछि विद्यार्थीले दुई सातादेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन् ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना जति विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि विभिन्न विद्यार्थी सङ्गठनहरूले साथ दिएका छन् ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् ।

नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो । नेपाली काङ्ग्रेसका नेतासमेत रहेका सञ्चालक शर्माले आफूहरूबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहवरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, कक्षा प्रवेश गर्नुअघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

विद्यार्थीका अनुसार यसपटक नोवेलमा एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका, नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।

विद्यार्थी र अभिभावकहरू भने चिकित्सा शिक्षा आयोगले तोकेबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोवेलले  एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजारलगायत अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाव दिँदै आएको विद्यार्थीले बताएका छन्  ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरिक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो ।

पाँच वर्षे कोर्षको प्रथम वर्षबापतको  १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् । नोवेलले विश्व विद्यालयबाट रकम लिइसकेको छ ।