सुनसरी । कोसी गाउँपालिका वडा नं. ७ स्थित हरिपुरमा सात वर्षअघि नै सम्पन्न भएको खानेपानी आयोजना सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको छ ।

२०७१ सालमा सुनसरीको तत्कालीन हरिपुर र श्रीपुरगाविसका जनतालाई सेवा दिने उद्देश्यले २ करोड लागतमा बनाइएको खानेपानी आयोजना सञ्चालनमा नआएपछि खानेपानी आयोजनाका सामग्री जीर्ण बनेको स्थानीय एकता युवा सञ्जाल क्लबका अध्यक्ष रोशन ठाकुरले जानकारी दिए ।

२०६५ सालको बाढीपश्चात् स्थानीयलाई स्वच्छ पानी उपलब्ध गराउन निर्माण गरिएको आयोजनाका सामानहरू जीर्ण अवस्थामा पुगेका छन् ।

खानेपानी आयोजना प्रयोगमा नआउँदै जीर्ण अवस्थामा पुगेको बारे सम्बन्धित निकाय जानकार भए पनि सञ्चालनमा ल्याउन तदारुकता नदेखाएको स्थानीयको गुनासो छ ।

अर्का स्थानीय राहुल झाले २०६६ सालमा निर्माण सुरु भई २०७० सालमा निर्माणकार्य सकिए पनि हरिपुर क्षेत्रका जनता अझै स्वच्छ पानी पिउनबाट बञ्चित भएको गुनासो गरे । कोसी गाउँपालिका क्षेत्रमा बनाइएका खानेपानी आयोजनाहरूमध्ये भण्टाबारीको खानेपानी आयोजना सञ्चालनमा छ भने हरिपुर र लौकहीको खानेपानी आयोजना अझै जीर्ण अवस्थामा रहेको पाइएको हो ।

खानेपानी आयोजना सञ्चालन नहुँदा यस क्षेत्रका बासिन्दा स्वच्छ पिउने पानीबाट बञ्चित छन् । हरिपुरमा निर्माण गरिएको खानेपानी आयोजना अझैसम्म सञ्चालनमा नआएपछि पटक–पटक स्थानीय जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको ठाकुरले गुनासो गरे ।

सञ्चालनमा नआउँदै आयोजनाका सामग्री जीर्ण बनेकाले स्थानीय प्रदूषणयुक्त पानी पिउन बाध्य भएको उनको भनाइ छ । खानेपानी आयोजनाको भवनदेखि जडान गरिएका पाइप, ट्रान्सफर्मर जीर्ण बनेको बताइएको छ । खानेपानी आयोजनाका पुराना सबै औजार जीर्ण भएकाले नयाँ जडान गर्नुपर्ने देखिएको कोसी गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र महतोले बताए ।

स्थानीय उपभोक्ता समितिले सञ्चालनमा ल्याउन नसकेपछि नेपाल खानेपानी संस्थान विराटनगरलाई सञ्चालन गर्न दिने तयारी भएको उनको भनाइ छ ।

यता नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले जीर्ण अवस्थामा देखिएको खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन मन्त्रालयले गठन गरेको समितिले प्रतिवेदन बुझाउन बाँकी रहेकाले काम अघि नबढेको जानकारी दिए । प्रतिवेदन स्वीकृत भएपछि मात्र काम अगाडि बढ्ने उनको भनाइ छ ।