तेह्रथुम/ फेदाप गाउँपालिका वडा नम्बर १ स्थित महकाली मावि पुल्ढुङ, सिम्लेका प्रधानाध्यापकको सोमबार बिहान करेन्ट लागेर निधन भएको छ ।
आफ्नै बारीमा रहेको कुटमिराको रुखमा बाख्रालाई घाँस काट्न चढ्दा खेरी करेन्ट लागेर प्रअ अम्बर बहादुर बस्नेतको निधन भएको हो ।
बाख्रालाई घास खुवाउनको लागि रुखमा चढेर घाँस काट्दा घासको डालोले विजुलीको तारमा छोएपछि करेन्ट लागेको स्थानीयवासी सिव लिम्बुले बताए ।
करेन्ट लागेका प्रअ बस्नेतको घटनास्थलमा नै निधन भएको थियो । निधन भएका बस्नेतलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको फेदाप गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन चोङवाङले जानकारी दिए ।