विजयपुर / विश्वकर्मा कल्याण सेवा समितिको भवन निर्माणका लागि जग्गादातासहित १२ जना सम्मानित भएका छन् ।

आइतबार धरान–३ स्थित लुप मार्गमा रहेको समितिको भवनको दोस्रो र तेस्रो तला उद्घाटन समारोहमा जग्गादाता मोहन शङ्करलाई सम्मान गरिएको हो ।

अन्य ११ जनालाई  जनही १५ सयका दरले नगदसहित सम्मान गरिएको हो । सम्मानित हुनेमा रविदास गजमेर, इन्द्रमाया विक, भद्र बराइली, जसबहादुर शङ्कर, मैयाकुमारी रामदाम, दलबहादुर घतानी, हेमानसिंह शङ्कर, खड्गबहादुर दर्नाल, शेरबहादुर ल्वागुन, इन्द्रमाया विश्वकर्मा र देवीमाया खाती रहेको महासचिव घमानसिंह विश्वकर्माले बताए ।

प्रतिनिधिसभा सदस्य जयकुमार राई र प्रदेशसभा सदस्य उमिता विश्वकर्माले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । भवनको तला १७ लाख ५० हजारमा निर्माण गरिएको समितिका अध्यक्ष लालबहादुर सुन्चेउरीले बताए ।

भवन निर्माणका लागि प्रतिनिधिसभा सदस्य राईको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १५ लाख रुपैयाँमा विनियोजन भएको हो । अन्य रकम भने समितिको कोषबाट खर्च गरिएको अध्यक्ष सुन्चेउरीले बताए ।
bkk1