यासोक । तमोर करिडोर आसपास बसोबास गर्नेहरूका दिन अचेल फर्किएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरा बजारदेखि पाँचथरको अमरपुर बजारसम्म सडक निर्माण र सञ्चालनमा आएसँगै तमोर करिडोरमा बसोबास गर्दै आएका बासिन्दाको जीवनशैली फेरिएको छ । 

कसैले सायदै कल्पना गरेका थिए होलान् निलो भएर बग्ने तमोर नदीको किनारै किनारका भित्तामा फराकिलो सडक बन्ला र मोटरगाडी कुद्लान् भनेर । ढिलोचाँडो राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तमोर कोरिडोरमा सडक निर्माण भएपछि कुनै बेला सुनसान किनारमा मानिसको चहल–पहल बाक्लिएको छ ।

सडक छेउछाउ, चौबाटाहरूमा व्यापार–व्यवसाय गर्ने उद्देश्यले घर निर्माण गर्नेहरूको पनि प्रतिस्पर्धा नै चलेको छ । तमोर नदी किनार आसपासका फाँटिला बेंसीहरूमा स्थानीय बासिन्दाहरू थरिथरिका फलफूल, तरकारी बाली उत्पादनमा व्यस्त देखिन थालेका छन् । पाँचथरको कुम्मायक–५ का पूर्णबहादुर थापाले भने, ‘एक दशक अघिसम्म तमोर किनारको सानो गोरेटोमा एक्लै हिँड्ने अवस्थासम्म थिएन ।

अहिले फराकिलो सडक विस्तार भएपछि घर निर्माणसँगै बजार बसेजस्तै भएको छ ।’ उनका अनुसार पहिले डोको र ढाकरमा कागती बोकेर धरान पुग्न ५ दिन लाग्थ्यो । चारैतिर जङ्गल र वन्यजन्तुको डर थियो । अहिले सडक विस्तारले अवस्था फेरिएको छ । 

सात वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएका धनकुटाको चौबिसे गाउँपालिकाका गोविन्दबहादुर बस्नेत पनि तमोर किनारमा बस्दै आएका छन् । गाउँपालिकाछेउमै बस्दै आएका उनी तमोर करिडोर सडक सञ्चालनमा आएसँगै दुग्ध व्यवसायका लागि ४ वर्षदेखि नदी किनारमा भैंसीपालन गरेर बस्दै आएको बताए ।

उनले भने, ‘तमोर करिडोरमा सडक बनेपछि दिन फेरिएको छ । भैंसीपालन र किराना पसल चलाएर मासिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएको छु ।’ उनले आम्दानीको स्रोत खोज्दै तराईतिर बसाइ सर्न जरुरी नरहेको बताए ।

उनले भने, ‘सडक र यातायातको पहुँचले सहज बनाएको छ । भैंसीपालन र खेतीपातीबाट राम्रो आम्दानी भएको छ ।’ सडकमा दैनिक सवारी साधनको ओहोर दोहोर हुन्छ । घाँसे मैदान प्रशस्त मात्रामा छन् । उत्पादन गरेको सबै सामग्रीले राम्रो मूल्य पाएको बताउँदै अहिले स्वर्गमै बसेजस्तो लाग्ने गरेको उनले बताए । पाँचथरको अमरपुरदेखि धनकुटाको मूलघाटसम्मको सडकको दूरी १ सय १२ किलोमिटर छ ।

तिनै सडक आसपासमा बसोबास गर्नेहरूको आर्थिक गतिविधि बढेको छ । दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि जग्गाको किनबेच र घर निर्माणसमेत भइरहेको छ । सडक आसपासको जग्गा प्रतिरोपनी ३ लाखदेखि ५ लाखसम्ममा बिक्री भइरहेको कुम्मायक–५ का मञ्जु आचार्यले बताइन् । 

आफ्नै ठाउँमा सडक आएपछि उनले प्रतिरोपनी २ लाख रुपैयाँले घडेरी खरिद गरेर १८ लाख रुपैयाँ लागतमा व्यापार गर्ने उद्देश्यले घर निर्माण गरेको बताइन् । ०७४ सालमा सुरु भएको उक्त सडकले पूर्वका चार जिल्लाहरू पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटालाई छोटो दूरीमा तराईसँग जोडेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना पाँचथरका इन्जिनियर हिमाल काफ्लेका अनुसार ६ अर्ब २३ करोड ४९ लाख रुपैयाँको लगानीमा ७ प्याकेजमा काम हँुदै आएको सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि सुनसरीको चतरासम्मको २३ किलोमिटर सडकको काम पूरा भएको छ ।

बाँकी रहेको धनकुटाको मूलघाटदेखि पाँचथरको अमरपुरसम्मको १ सय १२ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको बताए । सबै निर्माण कम्पनीको भौतिक र आर्थिक प्रगति ९६ प्रतिशत पूरा भएको भन्दै २०७८÷०७९ सालभित्रै योजनाको काम पूरा हुने उनको भनाइ छ ।