धरान । प्रदेश १ को उच्च पहाडी जिल्लामा भारी हिमपात भएको छ । धनकुटा, तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङमा भारी हिमपात भएको हो । 

हिमपातका कारण ती जिल्लाको जनजीवन कष्टकर बनेको छ । उक्त क्षेत्रमा वर्षासमेत भएको छ । तेह्रथुम, सङ्खुवासभाको तीनजुरे मिल्के जलजले क्षेत्रमा बाक्लो हिमतपात भएको स्थानीयले जनाएका छन् । उक्त क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने चौपाया बढी प्रभावित बनेको जनाएको छ ।

hiubhojpur

स्थानीयका अनुसार तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरिसे, गुफापोखरीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीय छिरिङ लामाले जानकारी दिए । हिमपातका कारण घर बाहिर निस्कन समेत समस्या भएको छ । बालबालिका, वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

हिउँ परेका कारण उक्त क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । यता कोशी राजमार्ग हिउँ परेका कारण अवरुद्ध बनेको छ । बाक्लो हिउँ परेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी नहकुल पोखरेलले जानकारी दिए । उनका अनुसार धनकुटाको सिधुवाको उत्तरतर्फको सडक अवरुद्ध बनेको हो ।

DKL_Phungling-7073

बुधबार बिहानैदेखि यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । मङ्गलबार रातिदेखि नै हिमपात भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भए मात्रै खाद्यान्न बाली सप्रिने विश्वास लिइन्छ । हिउँ परेमा जमिन ओसिलो हुने भएकाले पनि बालीनाली सप्रिने विश्वास लिइन्छ । हिमपात नभएको वर्ष सुख्खाका कारण उत्पादनमा ह्रास आउने विश्वास गरिन्छ । 

तेह्रथुम, सङ्खुवासमा करिब चार फिटसम्म हिउँ जमेको जनाइएको छ । हिमपात अझै पनि जारी रहेको छ ।