धरान । पूर्वको पर्यटकीय स्थल भेडेटारमा नवौं भेडेटार फुड फेस्टिभल आयोजना हुँदै छ ।
पुसको १६ गतेदेखि १८ गतेसम्म फेस्टिभल आयोजना हुने आयोजक संस्था होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार फेस्टिभलमा यसपटक स्थानीय उत्पादनसँगै, हस्तकला, राई, लिम्बू, मगर, तामाङ, नेवार जातिको परिकार, मौलिक झाँकी तथा साँस्कृतिक कार्यक्रम हुने छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिनसम्म हुने फेस्टिभलमा १ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ भने ३० हजार पर्यटक भित्र्याउने योजना रहेको उनले जानकारी दिए । त्यस्तै मनोरञ्जनका लागि दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति हुनेछ भने हेली फन फ्लाइट, जीप लाइन र प्याराग्लाइडिङको पनि सुविधा रहेको जनाइएको छ ।
यसपटक भने चाल्र्स टावर बन्द रहने जनाइएको छ । हाल उक्त क्षेत्रमा स्काई वाक निर्माण भइरहेकाले पनि बन्द रहने जनाइएको छ । अबको ६ महिनाभित्र चाल्र्स टावरसँगै जोडिएको स्काई वाक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । उक्त स्काई वाक प्रदेश १ सरकारले बनाइरहेको छ ।