धरान । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १९ औं शृङ्खला मङ्सिर २३ देखि २७ सम्म हुने भएको छ । फेस्टिभलमा २८ देशका ५५ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण गत वर्षदेखि अनलाइनबाट पनि फिल्म देखाउन थालिएको किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए । किम्फको उद्घाटन सत्रमा अमेरिकी फिल्म निर्देशक कायल रुडिकले बनाएको ‘ड्रिम माउन्टेन’ प्रदर्शन गरिने भएको छ । यो फिल्ममा नेपालकी एक महिला पर्वतारोही आफ्नो नाबालक छोरा बोकेर हिमाल चढेको कथा छ ।

किम्फले यसपालि ‘टिकटक फर क्लाइमेट जस्टिस’ शीर्षकमा टिकटक सर्ट फिल्म कम्पिटिशन पनि आयोजना गर्दै छ । यसमा प्रथम हुनेलाई पाँच सय युरो प्रदान गर्नुका साथै उत्कृष्ट १० फिल्मलाई किम्फमा देखाइने आयोजकले जनाएको छ ।

महोत्सवमा भारतीय वातावरण अभियन्ता एवम् शिक्षा सुधारक सोनम वाङ्चुकले विद्वत् प्रवचन दिने बताइएको छ । थ्री इडियट्स फिल्ममा आमीर खानले निर्वाह गरेको रन्चोडदास शामलदास चाँचड वा फुङ्सुक वाङ्डु पात्र यिनै वाङ्चुकबाट प्रेरित थियो ।

चलचित्र विकास बोर्डको हलमा किम्फको औपचारिक कार्यक्रम गरिने भएको छ । ‘नेपाल पानोरमा’ विधाका १२ वटा फिल्म पनि त्यहाँ प्रदर्शन हुनेछन् ।

विगत दुई दशकदेखि बर्सेनि आयोजना हुँदै आएको यस फिल्म महोत्सवमा विशेषतः हिमाली जीवन र हिमाली समुदायका जटिलता र विविधतालाई डकुमेन्ट्री, फिक्सन, एनिमेसन गरी विविध आयामबाट देखाइने गरिएको छ ।