विराटनगर । सुनसरीको इटहरीबाट चोरी गरेको मोटरसाइकल बेच्दै गर्दा प्रहरीले एक जना चोरलाई पक्राउ गरेको छ ।

सीमा प्रहरी चौकी रानी विराटनगरले चोरी गरेको बा. ९४ प ९९२६ एफजेड मोटरसाइकलसहित ताप्लेजुङका २३ वर्षीय सुरेश खड्कालाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका खड्काले मोटरसाइकल चोरेर नेपाल–भारतको सीमा दशगजा क्षेत्रमा भारतीय नागरिकलाई १५ हजारमा बेच्दै गर्दा सीमा प्रहरी चौकीका प्रमुख सइ डिल्ली देवकोटाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका खड्काले इटहरीदेखि पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल चोरी गरेको प्रहरीलाई बताएको छ । मोटरसाइकल धनीको पहिचान हुन सकेको छैन ।

विराटनगरसहित पूर्वी सहरदेखि चोरी भएको मोटरसाइकल खुल्ला सीमाको फाइदा उठाउँदै गिरोहले भारतमा पु¥याएमा मोटरसाइकल बिक्री गर्ने गरेको खुलेको छ ।

‘चोरी भएको मोटरसाइकल पनि सीमावर्ती बजार जोगवनीमा पुर्याएर बिक्री गर्ने गरेको पाइएको छ । बुधबार पक्राउ गरेको मोटरसाइकल पनि चोर र मोटरसाइकल किन्नेबीच मूल्यमा कुरा नमिल्दा प्रहरीले पक्राउ गरेको हो’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘चोरले १५ हजार भन्दै थियो । मोटरसाइकल किन्नेले १० हजारभन्दा दिन्नँ भन्दै थियो । यतिकैमा गोप्य सूचनाको आधारमा मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गर्न सफल भएको हो ।’

प्रहरीले चोरी आरोपमा पक्राउ गरेको खड्का र मोटरसाइकल विराटनगर– १६ दक्षिण गेटको दशगजा क्षेत्रबाट बरामद गरेको हो ।

सीमा प्रहरी चौकीले यसअघि पनि दशैं र तिहारको बीचमा चार जना पाकेटमारालाई पक्राउ गरेको थियो । पक्राउ परेकाको साथबाट प्रहरीले १० हजार रुपैयाँ पनि बरामद गरेको थियो ।