पथरी । मोरङको कानेपोखरी–७, स्थित शुक्रबारेमा रहेको ‘भलुवा सिमसार’लाई पूर्वकै नमुना पर्यटकीय गन्तव्य स्थल निर्माण गर्न शिलान्यास भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेको हो । भलुवा सिमसार निर्माणको लागि यस वर्ष ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयाँमा स्काई/सएस/मुटुयल जेभी कम्पनीले ठेक्का लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री हुँदा पूर्व मन्त्री भानुभक्त ढकालले ‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि ५ करोड रकम विनियोजन गरेका थियो । 

ठेकेदार कम्पनीले दुई वर्ष भित्र काम सम्पन्न हुने गरी काम सुरु गर्न लागेको वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यहोर्ने गरी रकम विनियोजन भएको थियो । यो भलुवा सिसारले यो पोखरीबाट उत्तर तीन किलोमिटर माथिको पूर्वपश्चिमको सडक सिमसार तथा जलाधारले भेट्ने भएकोले क्रमशः यसको क्षेत्र फराकिलो हुने छ । यस क्षेत्रलाई पर्यटकीय स्थल कस्तो बनाउने भनेर गाउँपालिकाले डिपिआर निर्माण गरिसकेको छ । डिपिआरकै आधारमा त्यहाँको संरचनाहरू बन्ने वडाध्यक्ष अधिकारीले बताए । वन क्षेत्र भित्र एक स्थानबाट अर्को स्थानमा जान साइकिलिंगको पनि योजना रहेको छ ।

वन्यजन्तुको लागि सानो चिडिया खान, ट्रि हाउस, वनभोज खाने कटेज, स्वागत गेट, कल्भट, विश्रामलय, पाले बस्ने ठाउँ, शौचालय, पोखरी विस्तार तथा सफा गर्ने, पोखरीको विभागमा जाने  पुलको निर्माण, सभा हल सहितको पाहुना घर जस्ता संरचनाहरू निर्माण हुने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र वनको समग्र विकासका लागि वन आसपासका जलाधार तथा पानीको मुहान संरक्षण गर्ने, वन्यजन्तु संरक्षणका लागि वन्यजन्तु आवास निमाण गर्ने तथा होमस्टे पनि सुरु गर्ने वडाध्यक्ष अधिकारीले बताए ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार क्षेत्र फैलिएको छ । वि.सं. २०६६ सालमा वन उपभोक्ता समितिले संरक्षणमा चासो देखाउँदै आएको थियो । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोक देखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्र भलुवा सिमसार रहेको छ । उति खेर तत्कालीन वन समितिका अध्यक्ष हरि पौड्यालले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्य योजनामा समेटी १० वर्षमा पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने घोषणा गरेका थिए । उति खेर बजेट अभावको कारण काम हुन भने सकेको थिएन ।

पूर्वकै नमुना गन्तव्य स्थल निर्माण गर्न सके गाउँपालिका कै प्रमुख स्रोत हुने छ । भलुवा सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं. ७, ६ र ४ सम्म करिब १ हजार बिघा भन्दा बढी जमिनमा सिचाई हुँदै आएको छ ।