यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबारदेखि मालपोतको घुम्ती शिविर सञ्चालनमा आएको छ । गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन आएको हो ।

मङ्सिर ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने घुम्ती शिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उद्घाटन गरेका थिए । शिविरको उद्घाटन गर्दै अध्यक्ष चेम्जोङले गाउँ घरमै मालपोत सम्बन्धी सम्पूर्ण सेवा नागरिकले पाएको भन्दै शिविरको खुलेरै प्रशंसा गरे । नागरिकको सेवामा सञ्चालन भएको शिविरलाई गाउँपालिकाले निरन्तर रूपमा सहयोग गर्ने बताए ।


 सात दिनसम्म सञ्चालन हुने शिविरमा अंशबण्ड, धन पुर्जा वितरण, नामसारी, बकस पत्र, दृष्टिबन्धकी, भोगबन्धकी, लिखित पारित जग्गाधनीको विवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले बताए ।

जग्गा सम्बन्धीको कारोबार गर्न जिल्ला मालपोत कार्यालयसम्म धाउनु पर्ने बाध्यता कम गर्न जिल्लाका सबै स्थानीय तहमा शिविर सञ्चालन गर्दै आएको पोख्रेलको भनाइ छ । शिविरको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सिता आचार्य, कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती लगायतको सहभागिता रहेको थियो ।