पाँचथर । प्रदेश १ का नारी स्रष्टाहरूको सङ्कलित कविता सङ्ग्रह ‘अजम्मरी अक्षरहरू’ को फिदिममा चर्चा गरिएको छ । होटल आदर्श सरगमको सभाहलमा शनिबार सङ्ग्रहको चर्चा गरिएको हो ।

चर्चा कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै साहित्यकार प्रेम ओझाले अजम्मरी अक्षरहरू शक्तिशाली कविताहरूको सङ्ग्रह भएको बताए । १ नं.प्रदेशका केही महत्वपूर्ण नारी स्रष्टाहरू छुटेको भन्दै ओझाले सङ्ग्रहको अर्को भागमा छुटेका स्रष्टाहरूलाई पनि समेट्न सुझाव दिए ।

सरस्वती दुमी राई र मधुराज केरुङले सम्पादन गरेको सङ्ग्रहमाथि साहित्यकार राधा स्मृति र श्यान नयनले पाठकीय प्रतिक्रिया राखेका थिए । सङ्ग्रहका सङ्कलक, सम्पादक सरस्वती दुमी राईले सङ्ग्रहमा भएका गल्तीहरूलाई अर्को भाग प्रकाशन गरेर सच्याउने बताए ।

कार्यक्रमको आयोजना याक्थुङ लेखक सङ्घले गरेको हो । सङ्घका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।