सङ्खुवासभा । जिल्लाको मकालु गाउँपालिका–३ सिम्लेमा शौचालय जाने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेका छन् । शुक्रबार राति करिब साढे १० बजेको समयमा शौचालय जाने क्रममा लडेर टाउकोमा गहिरो चोट लागेका उनको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको हो ।

माझी खाँदबारी–किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । उनको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि खाँदबारी ल्याइएको छ । खाँदबारीमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।