धरान । धनकुटामा शनिबारबाट दुई दिवसीय एभोकाडो महोत्सव सुरु भएको छ । 

धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजना र धनकुटा नगरपालिकाको सहआयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवमा ३० वटा स्टल राखिएका छन् । महोत्सवको उद्घाटन संघीय सांसद राजेन्द्रकुमार राईले गरे । 

धनकुटामा विगत वर्षहरूबाट महोत्सव लगाउन थालिएको हो । नगरलाई २०७५ सालमा पहिलोपटक एभोकाडोको राजधानी घोषणा गरिएको थियो । त्यसयता व्यवसायिक उत्पादनमा जोड दिन थालिएको छ । धनकुटा विशेष गरी सुन्तला, जुनार, कागतीका लागि प्रख्यात छ । तर पनि पछिल्लो वर्षहरूमा यस्ता फलफूलको उत्पादनमा ह्रास आउँदै गएयता नगर सरकारले एभोकाडोलाई प्रवद्र्धन गर्न थालेको हो । 

एभोकाडोलाई जनबोलीमा घ्यूफल भनिन्छ । जिल्लामा उत्पादित एभोकाडोलाई देशका विभिन्न स्थानमा पुर्याउने लक्ष्यका साथ महोत्सव लगाउन थालिएको आयोजक समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । पहिलोपटक दुई वर्षअघि महोत्सव गरिएको भए पनि गत वर्ष कोरोना महामारीका कारणले महोत्सव हुन सकेको थिएन । 

pic-2 3

धनकुटा बजारभन्दा केही माथि एभोकाडोको प्रतिमा पनि निर्माण गरिएको छ । आइतबारसम्म सञ्चालन हुने महोत्सवमा एभोकाडो उत्पादक किसान र व्यापारीबीच अन्तरक्रिया साथै उक्त फललाई प्रवद्र्धन गर्ने खाल्का कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए ।